राजन रावत
हुम्ला कात्तिक २० गते । दुई वर्षमा कोरोनाले प्रभाव पारेका हुम्लाका पर्यटन व्यवसायीहरुलाई स्वरोजगरामूलक काममा सहभागी गरिने भएको छ । पर्यटन क्षेत्रको राम्रो सम्भावना भएको हुम्लामा कोरोनाले व्यवसाय नै ओरालो लागेकाबेला पीडित व्यवसायीलाई रोजगारी दिन लागिएको हो ।
सिमकोट गाउँपालिकाकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ममता रोकायाले कोरोनाले प्रभावित पर्यटन क्षेत्रमा काम गर्दै आउनुभएका हुम्लाका व्यवसायीलाई रोजगारीम्लप्कप काम दिन लागिएको बताउनुभयो । कोरोना प्रभावित पर्यटन व्यवसायीलाई रोजगारी दिनका लागि जिवीकोपार्जन पूनस्र्थापनाका लागि दिगो पर्यटन परियोजनाले सिमकोट गाउँपालिकासँग सम्झौता गरेर रोजगारीको बाटो खोलेको हो ।
पहिलो चरणमा यसका लागि तीस जना प्रभावित पर्यटन व्यवसायीलाई काममा लगाईने रोकायाले बताउनुभयो । प्रभावितलाई योजना छनौट गरेर रोजागरमुलक कार्यमा लगाइनेछ । त्यो बापत प्रभावितले दैनिक पारिश्रमिक पाउने व्यवस्था गरिएको छ । परियोजनाका सम्पर्क व्यक्ति रिन्जिन लामाले प्रभावितलाई दिने कार्य पर्यटन क्षेत्रसँग सम्वन्धि हुने जानकारी दिनुभयो ।
उहाँले सिमकोटका लागि अहिले लागु भएको र तिहारलगत्तै कार्यक्रम नाम्खामा लागु हुने बताउनुभयो । मानसरोवर कैलाशको मुख्य मार्ग भएको कारण सिमकोट र हिल्सा क्षेत्रमा पर्यटन क्षेत्रलाई लक्षित गरेर स्थापना गरिएको दुई दर्जनभन्दा बढी पर्यटकीय होटेलहरुका व्यवसायी र अन्य पर्यटन व्यवसायी प्रभावित हुनुभएको थियो ।