विजयकुमार साह
ढल्केवर, कात्तिक २१ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छलेर ल्याएका लत्ताकपडा बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा साडी तथा सुटका कपडा जनकपुरधामस्थित भुतनाथ मन्दिर नजिकबाट बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
भन्सार छलिका कपडासहित ओसारपसार कार्यमा संलग्न धनुषाको औरही गाउँपालिका ७ बस्ने अनिल मण्डल र उनले प्रयोग गर्ने ज १३ प १३०० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर जनकपुरधाम भन्सार कार्यालय धनुषामा बझाइएको उहाँले बताउनुभयो । प्रहरीले एक लाख ८४ हजार मुल्य बराबरको कपडासहित अन्य सामग्री बरामद गरेको छ ।
त्यसैगरी जनकपुरधाम उपमहानगरपालिका ७ माछा बजारमा भारतबाट भन्सार छलेर ल्याएका २० क्यारेट अण्डा समेत नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइनमा बुझाएको प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।