शैलेन्द्र रोकाया
बझाङ, कात्तिक २२ गते । बाढीले अवरुद्ध जिल्लाको एकमात्र जयपृथ्बी मार्ग अझसम्म खुलेको छैन । कात्तिक १ गतेदेखि ३ गतेसम्म परेको अबिरल बर्षासँगै आएको बाढी र पहिरोका कारण अबरुद्ध मार्ग खुल्न नसकेपछि जिल्लामा दैनिक उपभोग्य बस्तुहरुको मुल्य आकाशिएको स्थानीयको भनाई छ ।
राजमार्गमा पर्ने केदारस्युँ गाउँपालिकाको नारुगौडा र छबिसपाथीभेरा गाउँपालिकाको जालेबगरमा सेती नदीले सडक कटान गरेपछि तीन सातादेखि यातायातका साधन ठप्प भएका थिए । सेती नदीले सडकलाई कटान गरेपछि सडक खुलाउन अस्थाई ट्र््याक खोल्न समेत मुस्किल परेको छ ।
नारुगौडामा सामान्य रुपमा साना जिप तथा ट्याक्टरसम्म आउने सडक बनाएपछि ठूला मालबाहक ट्रक तथा यात्रुबाहक बसहरु भने अझै संञ्चालनमा आउन सकेका छैनन् । भिर फोडेर सडक बनाउनु पर्ने भएकाले केही समय ढिलो हुने बताइएको छ । त्यस्तै जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको जालेबगरमा समेत सडक खुलेको छैन ।
जाले बगरको पारिपट्टी आमबगरको बस्ती तथा खेतीयोग्य भुमी भएकाले सेती नदीलाई डाईभर्ट गरेर सडक बनाउनु पर्ने भएकाले स्थानीयले आफ्नो बस्तीतिर तटबन्धनको ब्यवस्था नहुँदासम्म काम गर्न नदिने अडान राखेका कारण काम गर्न ढिलो भएको प्रमुख जिल्ला अधिकारी महोन अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक खोल्न सम्बन्धीत ठाउँमा डोजर पु्र्याइसकेको भएपनि आमबगरका स्थानीयहरुले आफ्नो बस्ती र खेत भएको ठाउँमा तटबन्धन गर्न आग्रह गरेकाले सर्बदलीय सर्बपक्षिय बैठक बोलाएर समस्याको समाधान गर्ने प्रयास भइरहेको छ ।”
सडक सुचारु गर्न सडक डिभिजन कार्यालय बैतडीले समयमै चासो नदेखाएका कारण ढिलो भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक डिभिजन कार्यालयका प्रमुखसँग बारम्बार सम्पर्क समन्वय गर्दा पनि वास्ता नगरेका कारणले ढिलो भयो ।”
अझै पनि दुई तीन वटा डोजरले सँगै सडक निर्माणको काम गरेको खण्डमा मात्रै कम्तीमा सडक खोल्न १० दिन लाग्ने अनुमान गरिएको छ ।
यातायात सुचारु हुन नसक्दा सदरमुकाम चैनपुरलगायतका अन्य ग्रामीण बजारमा भने दैनिक उपभोग्य बस्तुहरुको मुल्य बढेको छ । सदरमुकाम चैनपुरमा १६ सय पर्ने ग्यासको मुल्य दुई हजार पाँचसय पुगेको छ । दैनिक उपभोग्य बस्तु तरकारी, तेल, गहु, चामल लगायतका अन्य सामानको मुल्य समेत दोब्बरले बढेको छ ।