सन्तोष सुवेदी
सिराहा, कात्तिक २२ गते । कोरोना सङ्क्रमणका कारण निधन हुनुभएको पत्नी संगीता कर्माचार्यको स्मृतिमा लहानका समाजसेवी महेश चौधरीले सिरहालाई कार्यक्षेत्र बनाई उत्कृष्ट सञ्चारकार्य गर्ने एक जना पत्रकारलाई ५१ हजार नगद रहेको पुरस्कार घोषणा गर्नुभएको छ ।
बन्दाबन्दीका कारण आयआर्जनबाट विमुख भएका विपन्न परिवारलाई राहत वितरण गर्न जुटेका समाजसेवी दम्पती महेश चौधरी र संगीता कर्माचार्यको जोडीले दोस्रो सङ्क्रमणसम्म चार हजार परिवारलाई राहत वितरण गरेको थियो । राहत वितरणकै क्रममा दोस्रो चरणको सङ्क्रमणले कर्माचार्यको गत जेठ २२ गते झापाको बीएनसी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
नेपाली काँङ्ग्रेसको भगिनी संस्था नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य समेत रहनुभएकी कर्माचार्यको मृत्युपछि उहाँका पति महेश चौधरीले दिवङ्गत पत्नीको स्मृतिमा सो पुरस्कार घोषणा गर्नुभएको हो । सामाजिक सेवाकै क्रममा कर्माचार्यको नाममा स्थापित ‘संगीता कर्माचार्य स्मृति प्रतिष्ठान’ द्वारा प्रत्येक वर्षको जेठ २२ गते सिराहाका एक सञ्चारकर्मीलाई ५१ हजार नगद रुपियाँ रहेको पुरस्कार वितरण गरिने उहाँले बताउनुभयो ।
उक्त पुरस्कारका लागि नेपाल पत्रकार महासङ्रघ सिरहा शाखाले सिफारिसमा उम्मेदवारमध्येबाट प्रतिष्ठानका अध्यक्ष महेश चौधरी र एकजना विज्ञ सम्मिलित छनाेट समितिले सिरहालाई कार्यक्षेत्र बनाई उत्कृष्ट सञ्चारकर्म गर्ने एक पत्रकारलाई पुरस्कृत गर्ने घोषणा प्रतिष्ठानका अध्यक्ष चौधरीले बताउनुभयो ।