भोटराज राई
उदयपुर, कार्तिक २३ गते । नेपाली काँग्रेस उदयपुरमा प्रष्ट रुपमा दुईधार देखिएको छ । काँग्रेसको देउवा र पौडेल समूहमा दुईधार देखिएको हो । नगरस्तरबाटै नेतृत्व चयनमा देखिएको प्रष्ट दुईधार अहिले प्रदेश सभा अधिवेशनमा पनि देखिएको छ । काँग्रेसको केन्द्रमै यो किसिमको धार रहेकाले जिल्ला र गाउँतहसम्म देखिएको हो ।
प्रदेश सभा अधिवेशनका लागि सभापतिमा सरोज बस्नेत र देवीकुमारी चौधरीको उम्मेदवारी सार्वजनिक भएको छ । काँग्रेसका पूर्व नगर सभापति बस्नेत नेतृत्वको प्यानल घोषणा भएको छ । उहाँको नेतृत्वको प्यानलमा उपसभापतिका उम्मेदवारद्वय चन्द्रबहादुर तामाङ र उद्धवबहादुर राउत हुनुहुन्छ । सचिव उम्मेदवारद्वयमा फिरन खड्का र कुवेर ग्रांजा मगर हुनुहुन्छ् भने सहसचिव उम्मेदवारद्वयमा लक्ष्मणप्रसाद भट्टराई र अर्पना दनुवार हुनुहुन्छ ।
यता, काँग्रेसको तर्फबाट त्रियुगा नगरपालिकाको उपमेयर बनेकी देवीकुमारी चौधरी नेतृत्वको प्यानलमा उपसभापतिका उम्मेदवारद्वय कमलकुमार राउत र प्रेमकुमार राना मगर छन् । सचिव उम्मेदवारद्वय शैलेस बस्नेत र केशबकुमार राया छन् भने सहसचिव उम्मेदवारद्वय सरस्वती महतरा र रत्नाकुमारी राई छन् । केही दिनअघि फेसबुकमार्फत सार्वजनिक भए पनि औपचारिक घोषणा चौधरी नेतृत्वको प्यानलमा अन्य सदस्यका उम्मेदवारहरु सार्वजनिक हुन बाँकी छन् । आन्तरिक तयारी भईरहेको सो प्यानलका सचिव उम्मेदवार बस्नेतले बताउनुभयो ।
बस्नेत नेतृत्वको प्यानल भने हिजो एक समारोहकाबीच प्रदेश मन्त्री हिमाल कार्कीको उपस्थितिमा औपचारिक घोषणा भएको हो । सो कार्यक्रममा संघीय सांसद लक्ष्मी परियार, प्रदेश सांसद जनु दनुवारसमेतको उपस्थिति थियो ।