लक्ष्मण पौडेल
भैरहवा, कात्तिक २३ गते । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठपर्वका लागि भैरहवाका छठपोखरी सिंगारिएको छ । छठ पूजाका लागि सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री काली भक्ति गण (ई) (भैरहवा व्यारेक, रुपन्देही) र सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा रहेको पोखरी सिंगारेर पूजाका लागि तयारी अवस्थामा राखिएको हो ।
पोखरीमा सरसफाई गरी रङरोगनको काम सम्पन्न गरिएको छ । श्री राम जानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्रप्रसाद रौनियारले छठपर्वको ठूलो महत्व रहेको भन्दै पूजाको सबै तयारी लगभग सकिएको बताउनुभयो ।
परिवारमा सुख, शान्ति प्राप्त हुन्छ भन्ने विश्वासका साथ तराई क्षेत्रमा छठपर्व मनाउने गरिन्छ । अहिले यो पर्व क्रमशः महाडी क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायले पनि मनाउँदै आएका छन् । मन्दिर सेवा समितिले पूजाका लागि दुईवटा पोखरी सरसफाइ र मञ्च व्यवस्थापन सम्पन्न गरिसकेको छ । बुधबार दिउँसो ४ बजेदेखि राति १२ बजेसम्म छठ पूजाको महत्व बुझाउँदै भजनकीर्तनको आयोजना गरिने रौनियारले बताउनुभयो । विगत ५ वर्षदेखि यो पोखरीमा छठपूजा हुँदै आएको छ ।
छठपर्व मनाउनका लागि श्री कालीभक्ति गण (ई) भैरहवा ब्यारेकभित्र पनि तयारी अन्तिम अवस्थामा पुगेको छ । यहाँ ६० वर्षदेखि छठपूजा हुँदै आएको श्री छठ पूजा समारोह समिति सिद्धार्थनगर–५ का कार्यक्रम संयोजक आनन्दप्रसाद गुप्ताले बताउनुभयो । छठ पूजाका लागि नेपाली सेनाको सहयोगमा पोखरी सरसफाई, रंगरोगन लगायतका काम गरिएको छ । कार्यक्रम संयोजक गुप्ताले वर्षेनी छठ पूजास्थलमा भक्तजनहरुको सङ्ख्या बढ्दै गएको बताउनुभयो । पूजाका लागि पोखरीको छेउँमा २ हजार १ सय वटा वेदी बनाइएको र ३५–४० हजार भक्तजन आउने गुप्ताले जानकारी दिनुभयो ।
भक्तजनको सङ्ख्या वर्षेनी बढ्दै गएपछि अर्को वर्षदेखि छठ पोखरी थप्ने तयारी थालिएको छ । आफ्नो मनकामना पूरा हुने धार्मिक विश्वासका साथ भक्तजनहरु छठ पूजामा सहभागी हुन आउने गरेको गुप्ताले बताउनुभयो । सरकारले सार्वजनिक बिदा दिएको मधेशी समुदायको मुख्य चाड छठपर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउने गरिएको छ । यो पर्वमा सरकारले सार्वजनिक बिदा दिएको उहाँले बताउनुभयो । कालीभक्ति गणमा हुने पूजा कार्यक्रम गृहमन्त्री बालकृष्ण खांण समेत सहभागी हुने छठपूजा समारोह व्यवस्थापन समिति सिद्धार्थनगर–५ ले जनाएको छ ।
त्यस्तै ओमसतिया गाउँपालिका–४ स्थित बालापुरमा पनि छठपूजाका लागि तयारी गरिएको छ । हनुमान मन्दिर युवा क्लब ओमसतिया–४ बालापुरको व्यवस्थापनमा डण्डा नदीको छेउमा पूजा हुने भएको छ । विगत चार वर्षदेखि डण्डा नदीको किनारमा छठ पूजा हुँदै आएको क्लबका अध्यक्ष उदयकुमार गर्गले बताउनुभयो ।