logo
२०८२ भाद्र २१ शनिवार



मोरङ कारागारका चौकिदारसहित १४ नाइकेको सरुवा, नयाँ चौकिदार ताेकियाे

खुला |


मोरङ कारागारका चौकिदारसहित १४ नाइकेको सरुवा,  नयाँ चौकिदार ताेकियाे


गाेकुल पराजुली
विराटनगर, कात्तिक २३ गते । कारागारका चौकिदार, नाइके र अन्य कैदीबन्दीबीच विवाद भई झडपको अवस्था आएपछि कारागार प्रशासनले चौकिदारसहित १४ जनालाई जेल सरुवा गरेको छ ।कारागार विभागको निर्देशनमा पाँच जनालाई सुनसरीको झुम्का कारागार र नौं जनालाई झापा कारागारमा सरुवा गरिएको हो । चौकिदारको सरुवा भएपछि १७ वर्षदेखि जेल जीवन बिताउदै आएका कार्तिक कामतलाई नयाँ चौकिदार नियुक्त गरिएको छ । कामत ज्यान मुद्दामा कैद सजाय भुक्तान गर्दै आएको कारागार प्रशासनले जानकारी दिएको छ ।

कारागार प्रशासनले मंगलबारको झडपमा घाइते भएका चौकिदार किरण गुरुङसहित १४ जना नाइके र भाइनाइकेहरुहरुलाई अन्यत्र कारागारमा सरुवा गरेको हो । कारागार प्रशासनले चौकिदार गुरुङसहित शेखर राई, सूर्यदीप गुप्ता, निर्मल ढकाल र पदमकुमार लिम्बुलाई झुम्का कारागारमा सरुवा गरेको छ । यस्तै नाइके र भाइनाइकेहरू एलएक्स नेपाली, रामबहादुर लिम्बू, रोशन दाहाल, डिल्ली देवान, कपिलकुमार साह, विशाल तामाङ्ग, रमेश मण्डल, बबिहाङ राई र राजु रार्इलाई झापा जिल्ला कारागार पठाएको जेलर पोखरेलले जानकारी दिनुभयो । सरुवा भएका सबैलाई साँझसम्म सम्बन्धित कारागारमा लगिसक्ने उहाँले जानकारी दिनुभयो ।

चौकीदार गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले कैबन्दीहरुलाई यातना दिएको आरोपमा दुई पक्षबीच बिहान १० बजेतिर झडप भएको थियो । झडपमा परि चौकीदार गुरूङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए ।

चौकीदार गुरुङले कारागारभित्र मनोमानी गर्ने र कैदीबन्दीलाई चरम यातना दिने गरेको भन्दै अरु अरु कैदीबन्दी रुष्ट थिए । त्यसै विषयमा विवाद हुँदा दुई पक्षबीच मंगलबार झडप भएको थियो । निमित्त जेलर पोखरेलले घटनाका बारेमा थप बुझ्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

कारागारभित्र चौकीदारले १० कैदिबन्दी बराबर एक भाइनाइके र २५ कैदी बराबर एक नाइके चयन गरेर कारागारभित्र नियन्त्रण तथा व्यवस्थापन गर्ने गरिएको छ । मोरङ कारागारमा ८९७ जना पुरुष र ७२ महिला कैदीबन्दी रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?