अविनाश चौधरी
धनगढी, कात्तिक २४ गते । कैलालीको टीकापुरमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको डेढ हप्ता नबित्दै फेरि अर्का युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।
मङ्गलबार राति एक समूहले टीकापुरस्थित कृषि हाट बजार नजिक लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको हो । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार केही व्यक्तिको समूहले युवकमाथि राति करिब ९ बजेतिर चक्कु प्रहार गरेको थियो ।
घटनामा संलग्न रहेको आशङ्कामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । घटनाको अनुसन्धान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटेको प्रहरीको संयुक्त टोलीले गरिरहेको छ । घटनास्थलबाट मृतकले चलाएको मोटरसाइकल र एक थान स्कुटर बरामद भएको प्रहरीले जनाएको छ ।
यसैबीच, मृतक युवकका आफन्तले हत्या गर्ने अपराधीलाई कडा कारबाहीको माग गर्दै विहानैदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले लम्की क्षेत्रमा राजमार्ग अवरुद्ध गरेका हुन् ।
यसअघि, डेढ साता अगाडि दुई जनाबीच वादविवाद हुँदा टीकापुर नगरपालिका–८ कालिमाटीका १८ वर्षीय अनुप साउँदको चक्कु प्रहारबाट हत्या भएको थियो । कालिमाटीमा झगडा भएपछि उनीमाथि चक्कु प्रहार गरिएको थियो । चक्कु प्रहार गरी हत्या गरेको आरोपमा भजनी नगरपालिका–३ ठेकीपुरका १८ वर्षीय किरण साउँद तत्कालै पक्राउ परेका छन् ।
छ वर्ष अघि भएको टीकापुर घटनाको दाग अझै मेटिएको छैन । फेरि पनि भइरहेका हत्याका घटनाले टीकापुरको सुरक्षा व्यवस्थामाथि प्रश्न खडा भएको स्थानीय गोपालजङ्ग थापाले उल्लेख गर्नुभयो । ‘यस्ता घटनाले सुरक्षा चुनौती थपिएको छ’, उहाँको भनाइ छ ।