माला कर्ण
सप्तरी, कात्तिक २४ गते । सबै जातिको साझा पर्वको रुपमा रहेको छठ पर्व बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाईएको छ । यो पर्वको अवसरमा छठ घाटहरुमा मुस्लिम समुदायको पनि उपस्थिति रहेको छ ।
जिल्लाको कोशी व्यारेज, भारदह, हनुमाननगर, कल्याणपुर, विसनपुर, पातो, सदरमुकाम राजविराज सहितका स्थानहरुमा छठ पर्व अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाईएको छ । यस क्षेत्रमा भव्य एवम् आकर्षक केन्द्रको रुपमा रहेको भारदहस्थित कोशी व्यारेजमा नेपाल र भारतका श्रद्धालुहरु आएर छठ पर्व मनाईएको छ ।
अपार श्रद्धाभक्तिका साथ मनाइने पर्व छठको बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिईएको छ भने विहीबार उदाउँदो सुर्यलाई अर्घ दिइने छ । तराई क्षेत्रका मैथिल समुदायले विशेष महत्वकासाथ मनाउँदै आए पनि हाल सबै जातजातिले यो पर्व मनाउन थालेका छन् । यतिसम्मकी मुस्लिम समुदायका पनि केही व्यक्तिले छठ पर्व मनाउन थालेका छन् ।
कात्तिक शुक्लपक्षको षष्ठीमा मनाइने यो पर्व चार दिनसम्म मनाइन्छ । कात्तिकको चौथीदेखि यो पर्व मनाउन सुरु गरिन्छ । सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको विधिवत् समापन गरिन्छ । पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई अरबा–अरबाइन वा नहाई खाई भन्ने गरिएको छ । यो दिनमा व्रतालुले नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् ।
पञ्चमी तीथिको दोस्रो दिनलाई खरना भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालु दिनभरि निर्जल व्रत बस्ने गर्छन् । साँझ नुहाएर चोखो भई पूजा कोठामा नयाँ चुल्हो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादका रूपमा विशेषगरी पाकेको केरा र खीरलाई लिइन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोले भूमि सुशोभित गरेर व्रतालुले राति चन्द्रोदयपछि चन्द्रमालाई खीर चढाई प्रसादको रूपमा ग्रहण गर्छन् । यो दिनपछि व्रतालुले पूर्ण व्रत लिनुपर्ने परम्परा रहँदैआएको मैथिल साहित्य परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्रले बताउनुभयो ।
उहाँकाअनुसार षष्ठीका दिन तेस्रो दिन गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी पीठोबाट विभिन्न गुलिया खाद्य साम्रगी बनाइन्छ । छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो रहनुपर्ने हुन्छ । जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास रहँदैआएको छ । पूजा सामग्री तयार पार्दा महिलाले निकै सतर्कता अपनाउने गर्छन्।
षष्ठी तीथिका दिन साँझ व्रतालुले सन्ध्याकालीन अर्थात् अस्ताउन लागेको सूर्यलाई प्रसादस्वरूप अर्घ दिन पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्ने गर्छन । सोही क्रममा व्रतालुले दुवै हत्केलामा पिठार (चामलद्वारा बनाइएको) र सिन्दुर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताउँदो सूर्यलाई अर्पण गरिन्छ ।
पर्वको चौथो अर्थात् अन्तिम दिनलाई पारन भनिन्छ । यो दिन बिहान उषाकालमा व्रतालुहरु जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातकालीन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्छन् ।
महाभारत ग्रन्थमा द्रौपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेको कुरा उल्लेख रहेको पण्डित धरन्जय मिश्रले बताउनुभयो । उहाँकाअनुसार उक्त समयमा पाण्डव मिथिलाका विराट राजाको क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ पर्व मनाउने परम्पराको सुरुवात भएको कुरा उल्लेख छ ।