राजन रावत
हुम्ला, कात्तिक २४ गते । चीनले सहयोग गरेको खाद्यन्न स्थानीय प्रशासनको समन्वयमा नाम्खा गाउँपालिका– ६ लगायतका वडाहरुलाई बितरण गरिएको खाद्यान्न हिल्सामा रोकिएको छ । कात्तिक पहिलो हप्ता परेको बर्षा र हिमपातले लिमी प्रबेशको बाटो भत्काए पछि सो खाद्यन्न ढुवानी हुन नपाएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले चीनको स्थानीय प्रशासनले जिल्लाका लागि सहयोग गरेको खाद्यन्न जिल्लाको निर्णय नाम्खा गाउँपालिकालाई दिने भएअनुसर सो गाउँपालिकालाई उपलब्ध गराएको भएपनि हिमपातले बाटो बन्द हुँदा हिल्सामै रोकिएको बताउनुभयो ।
चीनबाट प्राप्त भएको खाद्यन्न मैदा र चामल रहेको बताइएको छ । उहाँले हिल्साबाट आउन नारा लेकको बाटो हिउँले बन्द गरेको र लिमीतर्फ जाने मानेप्यामेकोको सडक भत्काएका कारण खाद्यन्न ढुवानी हुन नपाएको बताउनुभयो । लिमीका वडा अध्यक्ष पाल्जो तामाङले बाटो अबरुद्ध भएका कारण लिमीका तीन गाउँका लागि छुट्याईएको एक हजार ८४५ बोरा मैदा र ९३ बोरा चालम हिल्सामै रोकिएको छ ।
बाटो खुलाउन प्रयास भइरहेको भएपनि उपाय निस्कन नसकेको उहाँले बताउनुभयो । एक वर्षदेखि लिमीका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको खाद्यन्न ढुवानी हुन सकेको छैन । उहाँले हालसम्म बाहिरबाट खाद्यन्न आयात हुन नपाएपछि लिमीका लागि समस्या देखिन थालेको बताउनुभयो । लिमी मात्र नभएर नाम्खा गाउँपालिकाका अन्य वडा १ देखि ५ सम्मका लागि छुट्याइएको खाद्यन्न र स्वास्थ्य सेवा कार्यालयका लागि चीनबाट उपलब्ध भएको औषधी तथा उपकरण पनि हिल्सामै रोकिएको छ ।