चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक २५ गते । ताप्लेजुङमा राष्ट्रिय जनगणनाका लागि गणक र सुपरीवेक्षकसमेत झण्डै तीनसय जना परिचालन भएका छन् । बिहीबार आजदेखि शुरु भएको राष्ट्रिय जनगणना २०७८ का लागि उक्त सङ्ख्यामा जनशक्ति परिचालन भएका हुन् ।
जिल्ला जनगणना कार्यालय ताप्लेजुङका अनुसार नौ स्थानीय तह र ६१ वटा वडा रहेको जिल्लामा कुल २२९ जना गणक र ६१ जना सुपरीवेक्षक परिचालन भएका छन् । जिल्ला जनगणना अधिकारी मानबहादुर थापाले जनगणनाका लागि छनोट भएका सबै गणक र सुपरीवेक्षक आफ्नो कार्यक्षेत्रमा परिचालित भइसकेका जानकारी दिनुभयो ।
जिल्ला जनगणना अधिकारी थापाले एकजना सुपरीवेक्षक बराबार एकदेखि छ जनासम्म गणक परिचालित भएका बताउनुभयो । उहाँका अनुसार सुपरीवेक्षकलाई पहिले नै विभिन्न चरणमा तालिम तथा अभिमुखीकरण गराइएको थियो भने गणकलाई यही कात्तिक १३ देखि १६ गतेसम्म चारदिन तालिम प्रदान गरिएको थियो । तालिमलगत्तै गणकहरु जनगणनाका लागि आवश्यक पर्ने फाराम सहितका सामग्री लिएर कार्य क्षेत्रमा खटेका जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
जनगणनाका लागि खटेका सुपरीवेक्षक र गणकले बिहीबारदेखि नै आ–आफ्नो क्षेत्रमा काम थाल्ने पनि जिल्ला जनगणना अधिकारी थापाले जानकारी दिनुभयो । सुपरीवेक्षकमार्फत सूचीकृत गरेअनुसार जिल्लामा ३३ हजार घर सङ्ख्या छ । उक्त सङ्ख्यामध्ये करिव २७ हजार घरधुरीमा मानिसको बसोबास रहेको पनि थापाले जानकारी दिनुभयो ।
जनगणनाको कार्य कात्तिक २५ गते बिहीबारदेखि मङ्सिर ९ गते बिहीबारसम्म १५ दिन सञ्चालन हुनेछ । यसअघि २०६८ को राष्ट्रिय जनगणनाअनुसार ताप्लेजुङको जनसङ्ख्या एक लाख २७ हजार ४६१ थियो ।
।