विजयकुमार साह
ढल्केबर, कात्तिक २९ गते । डिभिजन सडक कार्यालय जनकपुरधामले पूर्वपश्चिम राजमार्ग सडक खण्डमा मर्मतको काम तीबव्र गतिमा अघि बढाएको छ । कार्यालयको कार्य क्षेत्रभित्र पर्ने महोत्तरीको बाँकेपुलदेखि पूर्वमा धनुषाको कमलापुलसम्म ४५ किलोमिटर सडकखण्डको मर्मत कार्य अघि बढाएका हुन् ।
सो सडकमा अहिले आकस्मिक, पटके र नियमित मर्मतसँगै कालोपत्रको तह थप्ने काम र ‘सिङ्गल सर्फेस ट्रेसिङ्ग’ को काम भइरहेको छ ।
यो सडकमा पटके वा नियमित मर्मत कार्य गत वर्षहरुमा पनि आवश्यकतानुसार हुँदै आएको डिभिजन सडक कार्यालय जनकपुरधामका प्रमुख सञ्जयकुमार मिश्रले बताउनुभयो । उहाँले सडकको तह नै थप्ने गरी ठूलो क्षेत्रफलमा मर्मतको कार्य अघिल्लो आर्थिक वर्षबाट सुरु भएको भन्नुभयो ।
अहिलेसम्म पूर्वमा पुष्पवलपुरदेखि पश्चिममा बर्दिबाससम्म १४ किलो मिटरमा कालोपत्रको तह थप्ने काम भएको छ । यस्तै, बर्दिबासदेखि बाँकेसम्मको १५ किलोमिटरमा सडकको खाल्डाखुल्टी भर्ने काम भइसकेको र छिटै नै सो सडकमा कालोपत्रे तह थप्ने काम हुने प्रमुख मिश्रले भन्नुभयो ।
उहाँले गत आर्थिक वर्ष ०७७÷०७८ मा सडक बोर्डले १२ करोड रुपैयाँ सडक मर्मतका लागि उपलब्ध गराएको थियो । यस पटक बढाएर २० करोड रुपैयाँ उपलब्ध गराउन माग गरिएको जानकारी दिनुभयो ।
अति व्यस्त रहने पूर्वपश्चिम राजमार्गमा असार साउन महिनामा परेको वर्षा र बाढीले असङ्ख्य ठाउँमा खाल्डाखुल्डी बनेको छ । वर्षा र बाढीले राजमार्गको कालोपत्र भागमा खाल्डाखुल्डी बढेसँगै सवारीसाधन चलाउन तथा दुर्घटना जोखिम बढेको थियो ।
धनुषामा तीन महिनाको अवधिमा २१३ वटा सवारी दुर्घटना भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले दिएको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७८÷०७९ को साउन महिनामा ५८, भदौमा ६९ र असोजमा ८६ वटा दुर्घटना भएको हो ।
राजमार्गको खाल्डाखुल्डी धनुषामा मात्र नभएर महोत्तरीको बर्दिबासदेखि बाराको पथलैयासम्म नै रहेको छ । यद्यपि अहिले भने धनुषा र महोत्तरीमा पर्ने राजमार्गमा मर्मतसम्भारका काम थालिएका छन् ।
सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख मिश्रले वर्षा थामिएसँगै राजमार्ग मर्मतसम्भारको कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो । उहाँले सवारी दुर्घटना सडकको खाल्डाखुल्डी मुख्य कारण नभएको भन्दै चालकको लापरबाही, सवारीसाधनको पार्टपूर्जामा समस्या नै दुर्घटनाको कारण भएको भन्नुभयो ।
पूर्वपश्चिम राजमार्गमा मर्मतको कार्य गर्दै । तस्बिरः विजयकुमार साह, ढल्केबर