logo
२०८१ मंसिर ८ शनिवार



दनुवार समुदायको मुख्य पर्व बड्की एकादशी शुरु

खुला |
प्रदेश |


दनुवार समुदायको मुख्य पर्व बड्की एकादशी शुरु


बाबुराम देवकोटा
कमलाखुँज (सिन्धुली), कात्तिक २९ गते । सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्रमा मुख्य बसोबास रहेको आदिवासी दुनुवार समुदायको मुख्य पर्व बड्की एकादशी सोमबारदेखि शुरु भएको छ ।

कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेषपूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्वलाई दनुवार जातीले भने आफ्नो संस्कृतिअनुसार बड्की पर्वको रुपमा मनाउँदैआएका छन् ।

निराधार ब्रत बसी जातिय संस्कृतिअनुसार बड्की नृत्य देखाई हरिबोधिनी एकादशीको भोलिपल्ट बिहान कमला नदीमा पूजाआराधना गरेपछि बड्की पर्व सकिने दनुवार जागरण समितिले जनाएको छ । समितिका अनुसार दनुवार समुदायले तीन दिनसम्म बड्की पर्व मनाउँदै आएका छन् । अति सीमान्तकृत दनुवार जाितको मौलीक कला, संस्कृति र संस्कारको संरक्षण र संवर्धनका लागि भन्दै दुधौली नगरपालिकाले हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ ।

ठुली एकादशीको अघिल्लो दिनबाट शुरु हुने उक्त पर्व ठूली एकादशीको भोलिपल्ट बिहान सबै दनुवार समुदाय भोकै बसेर पूजाआजा गरी कमला नदीमा पाँच वटा अमला टोकेर बगाएपछि सकिने समितिका सचिब सुमन चौधरीले बताउनुभयो ।

उहाँका अनुसार पर्वको अन्तिम दिन अमला नभए पाँच वटा ल्वाङ टोकेर खोला तथा नदीमा फाल्ने गरिन्छ । यसलाई पारन गरेको भन्ने चलन रहेको चौधरीले बताउनुभयो । पर्वमा विशेष गरेर दनुवार समुदायका अविवाहित महिलाले तीन दिनसम्म निराहार व्रत बसी आफू, परिवार र सुयोग्य वर प्राप्ति तथा सुख र शान्तिको कामना गर्नेगरेका छन् ।

‘अन्य जातिमा दशैं, तिहार, छठ तथा होलीजस्तै हाम्रो समुदायमा बड्की एकादशी सबैभन्दा ठूलो पर्व हो,’ दनुवार समुदायका अगुवा मल्लब दनुवारले भन्नुभयो, ‘यो वर्ष पनि दुधौलीमा सांस्कृतिक मेला आयोजना गरिएको छ,’ ।

सिन्धुलीको दुधौली तथा कमलाखुँज क्षेत्रमा मात्र २० हजार दनुवार समुदायको बसोबास छ । दुधौली नगरपालिका आदिवासी जनजाति दनुवार समुदायको आदिमस्थल हो । देशैभरमा सबैभन्दा बढी सिन्धुली जिल्लामा २० हजार, उदयपुरमा १८ हजार दनुवार समुदायको बसोवास रहेको दनुवार जागरण समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?