logo
२०८१ मंसिर ८ शनिवार



नयाँ भाडादर तोकिएपछि स्थानीय खुशी

खुला |
प्रदेश |


नयाँ भाडादर तोकिएपछि स्थानीय खुशी
फाइल तस्विर


शेरबहादुर सार्की
बाजुरा, कात्तिक २९ गते । बाजुराको मार्तडीदेखि कोल्टीसम्मको नयाँ भाडादर कायम गरिएको छ । मार्तडीदेखि कोल्टीसम्म चल्ने सवारीसाधनले उपभोक्ताबाट चर्को भाडा असुल्न थालेपछि यातायात व्यवसायी र स्थानीयलाई सहज हुनेगरी नयाँ भाडा दर तोकिएको हो ।

सधै चर्को भाडा लिएको भन्दै स्थानीय र व्यवसायीबीच पटक पटक विवाद आउन थालेपछि समस्या समाधान गर्न त्यो सडकमा चल्दैआएका सवारीलाई नयाँ भाडा दर कायम गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

बूढीनन्दा नगरपालिकाका स्थानीय मनबहादुर बोहराले भन्नुभयो, “सधै चर्को भाडा तिर्न बाध्य हुँदैआएका थियौ । यतिबेला जिल्ला प्रशासन कार्यालय बाजुराले यातायात व्यवसायीलाई नयाँ भाडादर कायम गरिदिएपछि अहिले स्थानीयलाई सहज भयो ।”

बोहराका अनुसार कैलालीको अत्तरियादेखि बाजुराको मार्तडीसम्मको एक हजार तीन सय रुपियाँ भाडा तोकिएको छ भने मार्तडीदेखि कोल्टीको एक हजार भाडा तिर्नुपर्दा यात्रुलाई निकै मार खेप्नुपरेको थियो ।

सडकको सम्पूर्ण स्वामित्व यातायातले लिएपछि साँफे मार्तडी अन्तर्गत पर्ने ५७ किलोमिटर सडकको पनि अहिले नयाँ भाडादर कायम गरिएको छ । यसअघि जिपले ६ सय र बसले पाँच सय रुपियाँ भाडा लिने सो सडकमा अहिले ३५० रुपियाँ मात्र नयाँ भाडादर कायम गरिएको छ ।

साँफे मार्तडी सडकको पनि यातायात व्यवस्था विभागकै परिपत्रअनुसार रुट परमित अनुमतिसँगै नयाँ भाडादर कायम गरिएको हो । यात्रुहरुले जिपमा होस् या बसमा बाजुराको मार्तडीबाट अछामको साँफेसम्म यात्रा गर्दा ३५० रुपियाँ मात्र तिर्नुपर्ने भएको छ । बढी भाडा लिएमा आवश्यक कारबाही हुने प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण व्यवसायी सम्बद्ध संस्थाका प्रतिनिधिलाई बोलाएर भाडादर बारे जानकारी गराई नयाँ कार्यान्वयन गर्न निर्देशन दिएको हो । नयाँ भाडादरअनुसार यात्रुहरु नबोकेमा र भाडा पुरानै लिएको पाइएमा प्रशासनले कानुनअनुसार कारबाही गर्ने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?