लक्ष्मी चौधरी
जनकपुरधाम, कात्तिक २९ गते । तराई मधेशमा अहिले साँझ पर्ने बितिक्कै सामाचकेवाको रौनक देख्न सकिन्छ । ‘सामा–चकेवा’ पर्व मुख्यतया चेलीबेटी र माइति पक्षकाबीच रहेको अटूट श्रद्धा एवं प्रेमको प्रतीक भएको सम्बन्धित समुदायको भनाई छ ।
जनकपुरधामको विभिन्न गाउँटोलमा आजभोलि सामाचकेवाको गीत गुञ्जिरहेको छ । चेलीबेटी घरबाट डालामा माटोका मूर्ति, दियो बालेर एकै स्थानमा भेला भई सामाचकेवा खेल्दा मध्यरातमा विभिन्न ठाउँमा चहलपहल बढेको छ । दाजुभाइ, दिदीबहिनीको मायाको प्रतीकको रुपमा मानिने सामाचकेवा दाजुभाइका लागि दिदी बहिनीले खेलिने पर्व हो ।
मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप भएको सो समुदायका जानकारहरुको भनाई छ । पर्वमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति बनाइने गरिन्छ । मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामाचकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको स्थानीय रीना कुमारीले बताउनुभयो ।
सामा–चकेवा पर्व कात्तिक महिनाको शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने गरेको उहाँले जानकारी दिनुभयो । ‘यो पर्वका लागि द्वितिया तीथिका दिनदेखि दिदीबहिनीले सामाचकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी छठ पर्वको खरना वा पारणदेखि चल्नेगरेको उहाँले बताउनुभयो । पर्वमा दाजुभाइको दीर्घायुको कामना गर्दै गीत गाउने परम्परासमेत रहेको स्थानीयको भनाई छ ।
दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्ने विश्वास गरिन्छ । पूर्णिमाका दिन पोखरी वा नदीमा सामा सचेवा विसर्जन गरिन्छ ।