चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक ३० गते । ताप्लेजुङको दुर्गम हिमाली बस्ती किलिङमा बिजुली बत्ती बलेपछि स्थानीयमा खुशीयाली छाएको छ । मिक्वाखोला गाउँपालिका–५ पापुङको किलिङ गाउँमा लघु जलविद्युत आयोजनामार्फत् बिजुली बलेसँगै स्थानीय हर्षित भएका हुन् भने नाचगान गरेर खुशीयाली मनाएका छन् ।
जिल्लाको निक्कै नै दुर्गम तथा विकट गाउँ किलिङमा स्थानीयको सक्रियतामा लघु जलविद्युत आयोजना निर्माण गरिएको हो । स्थानीय घट्टेखोलाबाट १५ किलोवाट क्षमताको घट्टेखोला लघु जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि किलिङ गाउँ नै उज्यालो भएको पापुङका वडाध्यक्ष डण्डु लामाले बताउनुभयो । वडाध्यक्ष लामाका अनुसार ७५ घरधुरी रहेको साविक पापुङ वडा नं. ८ र ९ किलिङ बस्तीका प्रत्येक घरमा अहिले बिजुली बत्ती बलेको छ ।
हिमाली क्षेत्र साथै ओसिलो भूभाग भएका कारण सौर्य ऊर्जा (सोलार बत्ती) प्रभावकारी नहुँदा हालसम्म टुकी बत्तीको उज्यालोमा निर्भर रहँदै आएका किलिङबासी बिजुली बत्ती बाल्न पाएपछि हर्षित भएका छन् । तत्कालीन संविधानसभा सदस्य पासाङ शेर्पाको उपस्थितिमा उद्घाटन गरिएको आयोजनामार्फत विजुली बत्ती बाल्न पाएपछि स्थानीयवासीले नाचगान गरेर खुशीयाली नै मनाएको वडाध्यक्ष लामाले बताउनुभयो ।
यता, आयोजना निर्माण भएपछि घरमा उज्यालो बत्तीको सुविधासँगै त्यहाँ रहेका नेपाली कागज उद्योग सञ्चालनमा पनि सहज भएको बताइएको छ । त्यस्तै, विगतदेखि नै कुटानी पिसानी मिल सञ्चालन गर्ने सोचमा रहेका किलिङबासीको सपना पनि पूरा हुने भएको वडाध्यक्ष लामाले बताउनुभयो । उहाँका अनुसार मिल स्थापना गरेर त्यहाँ उत्पादन हुने उवा र जौको पीठो बनाएर उपभोग साथै व्यापार गर्ने योजनामा स्थानीय रहेका छन् । लेक क्षेत्रमा उत्पादन हुने खाद्यान्न बाली उवा र जौको पीठोको माग निक्कै हुने गरेका छ ।
उक्त घट्टेखोला लघु जलविद्युत आयोजनाका लागि ९६ लाख रुपियाँ र स्थानीयको श्रमदानसमेत लगानी भएको छ । लागतको कुल रकमध्ये वडा कार्यालयको अनुदान ४९ लाख रुपियाँ, नाम्सालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी) इलामको २२ लाख, मध्यमेवा हाइड्रोपावरको सामाजिक उत्तरदायित्व विकास कोषबाट १५ लाख रुपियाँ छ । वडाध्यक्ष लामाका अनुसार गत फागुनबाट आयोजना निर्माणको कार्य शुरु गरिएको थियो ।