logo
२०८१ मंसिर ८ शनिवार



श्री मणि केशवनारायणको ४० वर्षदेखि स्थगित नित्य पूजा पुनः शुरु

खुला |
प्रदेश |


श्री मणि केशवनारायणको ४० वर्षदेखि स्थगित नित्य पूजा पुनः शुरु
फाेटाे - उपेश महर्जन (गाेरखापत्र अनलाइन)


गोरखापत्र अनलाइन
ललितपुर, कात्तिक ३० गते । विगत ४० वर्षदेखि विविध कारणले स्थगित श्री मणि केशवनारायणको नित्य पूजा पुनः शुरु भएको छ । पाटन संग्रहालयभित्र रहेको सो मन्दिरमा 'मणि छेँ ब्राम्हण समूह'को सहयोगमा हरिबोधिनी एकादशीको दिन क्षमा पूजा र विष्णु रुदीपाठसहित दैनिक नित्य पूजाको प्रारम्भ भएको हो ।

पुजारी माधवश्याम शर्माका अनुसार मन्दिरको आयस्ता घट्दै गएपछि हरेक दिन पूजा चलाउन खर्च नभएकाले रोकिएको सुनिन्छ । सो एकतले गुम्बज शैलीमा निर्माण भएको मन्दिर पूजा गरिनाका साथै सर्वसाधारका लागि सङ्ग्रहालय खुल्ने समय खुला भएको छ   
    
 सो मल्लकालीन मन्दिर विसं १९९० को भूकम्पले भत्किएपछि मर्मत र सम्भार गरी राखिएको हाे । यस मन्दिरमा १५ औं शताब्दीको नारायणको मूर्ति छ । सो नारायणको दायाँ लक्ष्मी र गरुडलाई समेत दर्शन गर्न पाइनेछ ।    
    
तत्कालीन राजा योगनरेन्द्र मल्लले सो नारायणसहित अन्य सात मणिगणेश, मणिचैत्य, मणिछँ, मणिभैरव, मणिमण्डप, मणिलिङ्गेश्वर र मङ्गहिटी अर्थात् मणिधारा नामक ८ मणि पाटनमा निर्माण गरी मणिगल क्षेत्र बनाएका बताइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ मा सो मन्दिर अवस्थित छ ।  

पाटन संग्रहालय विकास समितिका सदस्य सचिव सुरेशमान लाखेले श्री मणि केशवनारायणको मन्दिरको विधिवत् पूजापाठ गरिनुका साथै सातौं शताब्दीका महत्वपूर्ण प्रस्तरका मूर्तिहरुलाई खुल्ला रुपमा प्रदर्शनीको शुरुवात भएको जानकारी दिनुभयो । पाटन संग्रहालयको २४ औं वार्षिक उत्सव र पाटन म्यूजिमको चौथौं स्मारिका विमोचन गर्दै संग्रहालयमा भण्डारण गरिएका प्रस्तरका मूर्तिहरुलाई प्रदर्शनीमा राख्ने तयारी गरिएको छ ।

सदस्य सचिव सुरेशमान लाखेका अनुसार अमेरिकाबाट फिर्ता पाएका मूर्तिहरुलाई पनि क्रमशः प्रदर्शनीमा राख्ने तयारी भएको छ । ती प्रस्तरका मूर्तिहरुलाई भण्डारखाल बगैंचामा राखिएका छन् ।

   
    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?