logo
२०८१ मंसिर ८ शनिवार



छिन्नमस्ता गाउँपालिकाको सेवा ठप्प

खुला |
प्रदेश |


छिन्नमस्ता गाउँपालिकाको सेवा ठप्प


ललिता साह
बोदेबर्साईन (सप्तरी) मंसिर १ गते । पाउनु पर्ने सेवा सुविधा नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरूले सप्तरीको छिन्नमस्ता गाउँपालिकाभित्र रहेका १९ वटा विद्यालयको पठनपाठनसहित गाउपालिका कार्यलयका सरकारी कामकाज ठप्प पारेका छन्।

पालिकाका कर्मचारीहरू साउनदेखि तलव नपाएर कात्तिक ११ गतेदेखि नै संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलनमा उत्रेका थिए । मंसिर १ गतेबाट पालिकाका एक सय ३५ शिक्षक, शिक्षिका र कर्मचारीले पेनडाउन गरी गाउँपालिकाको कार्यालयमा धर्नामा बसेको संघर्ष समितिका संयोजक श्यामनारायण दासले जानकारी दिनुभयो ।

लामो समयसम्म तलब सुविधा नपाउँदा आफूहरु बाध्य भएर आन्दोलनमा उत्रेको छिन्नमस्ता ७ हाँटी माविका प्रधानाध्यापक महेन्द्रनारायण यादवले बताउनुभयो । कार्यालय प्रमुख नभएकाले तलब खुवाउन नसकिएको अध्यक्ष सुर्यनारायण मंडलले बताउनुभयो।

गाउँसभा सम्पन्न हुने वितिकै कर्मचारीको तलव खुवाइने पालिका उपाध्यक्ष उषा मण्डलले बताउनुभयो । पालिकाको कृषि शाखामा विगत २ वर्षदेखि कर्मचारी विवाद हुँदैआएको उहाँको भनाई छ । विवादकै कारण किसानका लागि आएको अनुदान लगायत कुनै काम हुन नसकेको उहाँले बताउनुभयो ।


पालिकामा शिक्षा, स्वास्थ्य, कृषि, बेरोजगारी, आयुृर्वेद, भेटेरिनरी, पोषण, सरसफाई, विकास पुर्वाधार, सडक, विद्युत, खानेपानी, सीपमुलक कार्यक्रमहरु केही हुन नसकेको पालिकाका निमित प्रमुख महेश शर्माले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?