अविनाश चौधरी
धनगढी, मङ्सिर १ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि सुदूरपश्चिम प्रदेशबाट १६४ जना महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ ।
प्रदेशको नौ वटै जिल्लामा रहेको १६ वटा सङ्घीय निर्वाचन क्षेत्रलाई आधार बनाएर महाधिवेशन प्रतिनिधि चयन गरिएको हो । १४ वटा निर्वाचन क्षेत्रबाट सर्वसम्मत रुपले र दुई वटा निर्वाचन क्षेत्रबाट निर्वाचन गरेर प्रतिनिधि चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार कैलाली क्षेत्र नम्बर ४ र कञ्चनपुर क्षेत्र नम्बर १ मा सहमति हुन नसकेपछि चुनावमार्फत प्रतिनिधि चयन गरिएको छ । ‘चु्नाव पनि अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो’, अध्यक्ष थापाले भन्नुभयो ।
पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीबाट सबैभन्दा बढी ४४ जना प्रतिनिधि चयन गरिएको छ । यसैगरी, बाजुराबाट २१, कञ्चनपुर, डोटी र बझाङबाट १६–१६, अछाम र बैतडीबाट १४–१४ जना प्रतिनिधि छनौट गरिएको छ ।
यस्तै, दार्चुलाबाट १२ र डडेल्धुराबाट सबैभन्दा कम ११ जना प्रतिनिधि चयन गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँले निर्विवाद र अत्यन्त सौहार्दपूर्ण तरिकाले यो प्रदेशबाट प्रतिनिधि चयन गरिएको उल्लेख गर्दै भन्नुभयो– ‘अब विचार र कामले एमाले एकतावद्ध छ भन्ने सन्देश प्रतिनिधि छनोटले दिएको छ ।’
पत्रकारको एक जिज्ञासामा अधयक्ष थापाले पार्टीको संस्थागत प्रक्रियाका आधारमा प्रतिनिधि छनौटप्रति कसैको असन्तुष्टि नरहेको बताउनुभयो । प्रतिनिधि छनौटप्रति कैलाली क्षेत्र नम्बर ५ र क्षेत्र नम्बर २ मा केही असन्तुष्टि देखिएको थियो । तर व्यक्तिगत असन्तुष्टिलाई कुनै महत्व नदिने उहाँको भनाई ।
एमालेले एक हजार दुईसय जना सङ्गठित सदस्य बराबर एक महिलासहित दुई जना महाधिवेशन प्रतिनिधि रहने मापदण्ड बनाएको थियो । यसैगरी थप ८०० जना सङ्गठित सदस्य बराबर अर्को एक जना महाधिवेशन प्रतिनिधि चयन हुने मापदण्ड बनाइएको थियो ।
त्यस्तै दलितको हकमा ५०० जना सङ्गठित सदस्य बराबर एक जना दलित महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था एमालेले गरेको छ । महाधिवेशन प्रतिनिधिको रुपमा ३३ प्रतिशत महिला छनौट भएको अध्यक्ष थापाले बताउनुभयो । उहाँले थप्नुभयो– ‘पार्टीको सबैभन्दा ठूलो कार्यक्रममा जाने इच्छा सायद धेरैको थियो होला । तर, पार्टीले तय गरेको विधि विधानअनुसार सबैलाई समेट्न सकिएन ।’
एमालेको राष्ट्रिय महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । यहाँबाट महाधिवेशनमा जाने प्रतिनिधिहरु आफ्नै खर्चमा जाने थापाले बताउनुभयो । ‘यस पटक हामी कसैसँग चन्दा माग्दैनौं । पार्टी केन्द्रीय कार्यालयबाट पनि पैसा माग्दैनौं’, उहाँले भन्नुभयो । ‘सबै आफ्नो पैसा खर्च गरेर महाधिवेशनमा सहभागी हुने भन्ने प्रदेश कमिटीले निर्णय गरेको छ ।’