लक्ष्मण पौडेल
भैरहवा, मंसिर १ गते । रुपन्देही प्रहरीले सञ्चारलन गरेको सर्च अप्रेशनकाक्रममा कात्तिक महिनाभर १७ जना लागूऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी युनिटहरुले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा १५ जना पुरुष र दुईजना महिला रहेको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताउनुभयो । लागूऔषध नियन्त्रणका लागि रुपन्देही प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको छ ।
पक्राउपरेका अभियुक्तसँग प्रहरीले ४७ ग्राम ५५० मिलिग्राम अवैध लागूऔषध (ब्राउन सुगर), १०५ ट्याब्लेट नाइट्राजेपाम, डाइजेपाम २३, फेनारगन २३, नुफिन १३, टालजेसिक २३ ट्याब्लेट बरामद गरेको छ । त्यस्तै एउटा मोटरसाईकल र तीन थान मोवाईल सेट बरामद गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देही र प्रहरी चौकी गुलरिया रुपन्देहीबाट खटिएको टोलीले रुपन्देहीको मर्चवारी गाउँपालिका २ मा लु ७८ प ५६८५ नम्बरको मोटरसाईकल शंका लागि चेकजाँच गर्नेक्रममा जिल्लाको सम्मरीमाई गाउँपालिका २ मुडिला बस्ने निरज यादवलाई पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषध स्पास्मो २२ क्याप्सुल बरामद गरेको छ । मोटरसाईकल पछाडि सवार मर्चवारी गाउँपालिका ५ बस्ने राहुल पाण्डेको साथबाट १०५ ट्याब्लेट नाइट्राजेपाम फेला पारेको छ । दुवै अभियुक्तलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर अनुसन्धान अगाडि बढाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीबाट खटिएको टोलीले जिल्लाको कन्चन गाउँपालिका वडा ४ बस्ने मोहन सुनार र प्रदिप पुनलाई लागूऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको छ । सूचनाको आधारमा नरेन्द्र दर्जी पनि पक्राउ परेका छन् । प्रहरीले उनीबाट ९०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट खटिएको टोलीले कञ्चन गाउँपालिका १ सानो उकाली बस्ने सीमाकुमारी श्रीसलाई पनि लागूऔषधसहित पक्रेको छ । उनको साथबाट ३ ग्राम ३०० मिलिग्राम खैरे हिरोइन बरामद गरिएको छ । लागूऔषध ब्यूरो शाखा कार्यालय भैरहवाले रुपन्देहीको ओमसतिया गाउँपालिका– ४ मा भरतपुर महानगरपालिका – १६ बस्ने दिपेन्द्र सुनार र गैंडाकोट नगरपालिका– १ नवलपरासी बस्ने नकुल बिकलाई पक्राउ गरेको छ ।
प्रहरीले डाइजेपाम २३, फेनारगन २३, नुफिन १३, टालजेसिक २३ ट्याब्लेट फेला पारी कारवाही थालेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका ११ पवित्रनगरमा चेकजाँच गर्ने क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका –४ शिवनगर बस्ने शंकर नेपाली ३ बस्ने केशव गिरी र बुटवल–११ बस्ने दिपक नेपालीसहित तीनजनालाई लागूऔषधसहित पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ११ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलबाटै खटिएको टोलीले बुटवल–१७ रानीगन्जबाट सोही ठाउँ बस्ने रवि लामालाई ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । त्यस्तै बुटवल– २ पाखापानी बस्ने राजु थापा क्षेत्री, बुटवल–११ देवीनगर बस्ने सूर्यप्रसाद ज्ञवालीलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट १०२ मिलिग्राम ब्राउनसुगर र दुईथान मोवाईल बरामद भएको छ । इलाका प्रहरी कार्यालय बुटवलकै टोलीले बुटवल–१४ पदमपुर बस्ने निर्मल भारती, नवलपरासीको प्रतापपुर गाउँपालिका–५ बस्ने मोहम्मद अफ्रोज मिया र बुटवल उपमहानगरपालिका वडा नम्बर १ बस्ने सम्झना हलुवाईलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट २८ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ ।