logo
२०८१ मंसिर ८ शनिवार



मर्निङवाकमा निस्कनु भएका गुरुङको बसको ठक्करबाट मृत्यु

खुला |
प्रदेश |


मर्निङवाकमा निस्कनु भएका गुरुङको बसको ठक्करबाट मृत्यु


जनार्जन खत्री
सर्लाही, मङ्सिर २ गते । सर्लाहीको मूर्तियामा बिहिवार बिहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नयाँरोडबाट बरहथवातर्फ गइरहेको ना ४ ख ७५२२ नम्वरको बसले ठक्कर दिँदा बरहथवा नगरपालिका– ९, मूर्तियाका ५४ वर्षीय रामु भन्ने रामेश्वर गुरुङको मृत्यु भएको हो ।

मर्निङवाकमा निस्कनुभएका गुरुङलाई बिहिवार बिहान ६ बजेतिर बरहथवा नगरपालिका–९, मूर्तियास्थित कुसुमचौकमा बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाईते हुनुभएका उहाँलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचार गरी थप उपचारका लागि वीरगन्ज लग्नेक्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसाद यादवले जानकारी दिनुभयो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको प्रहरी नायब उपरिक्षक यादवले बताउनुभयो । दुर्घटनापछि आक्रोशित भएका स्थानीयवासीले आज बिहान ७ बजेदेखि ११ बजेसम्म पाँच घण्टा नयाँरोड–बरहथवा सडक अवरुद्ध पारेका थिए ।

स्थानीयहरुले टायर बालेर प्रदर्शन गर्दा केहीबेर घटनास्थलको अवस्था तनावग्रस्त बनेको थियो । प्रहरीले मृतकको परिवारलाई सवारीधनीबाट कानून बमोजिम क्षतिपूर्ति रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि बन्द खुलेको मूर्तियाका वडासदस्य धर्मराज गुरुङले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?