सन्तोष सुवेदी
सिरहा, मङ्सिर ३ गते । सदाझैं यस वर्षको कात्तिक शुक्ल पूर्णिमाको दिन सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीको किनारमा अनौठो तथा भव्य तन्त्र मेला शुरुभएको छ ।
कात्तिक शुक्ल पुुर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथ प्रत्येक वर्षजस्तै पूर्णिमा तीथिमा शुक्रबार तन्त्र मेला लागेको हो । मेलालाई स्थानीय स्तरमा भुत मेला भनेर पनि चिनिने गरिन्छ । मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुरलगायत जिल्लाका लाखांै मानिस कमला नदीमा स्नान गर्ने गर्छन् ।
धामीझाँक्री बन्ने विश्वासकासाथ देउता खैल्दै कमला नदीमा स्नान गरेपछि तन्त्रयोग पाको भई कमलेश्वरी देवीले तन्त्र विद्याको वरदान दिने विश्वास स्थानीयले गर्छन् । भूत (तन्त्र) मेलामा स्नान गरेपछि घर आउनेबेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आफ्नो घर लैजाने गर्छन् । मुल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रकाअनुसार तन्त्रसिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ । मिथिलामा सदियौंदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास देखिदैआएको छ ।
स्नानको समयमा मूल धामीहरुले लोकभाकामा गीत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराई’ भनिन्छ । आफनो गाउँमा धामीलाई डो¥याएर कमला र गङ्गासागर स्नान गर्न ल्याएका सिरहाका धामी रामप्रसाद यादवले शरीरमा देउता चढ्नेलाई यहाँ ल्याउने गरिएको बताउनुभयो ।
तराईमा मन्त्र सिकाउने धामीलाई ‘भगता’ भन्ने गरिएको स्थानीयको भनाई छ । तन्त्र विद्या सिक्न नचाहनेहरुले पनि यस दिनमा कमला नदीमा स्नान गरेर ‘भगता’ सँग आशीष थापे दुख नास हुने विश्वास गर्ने गर्छन् ।
तन्त्र साधनामा विश्वास गर्नेहरु चतुर्दशीको रातभरी जाग्राम रही तन्त्र साधना गरेर भोलिपल्ट पूर्णिमाको दिन कमला नदीमा स्नान गर्ने गर्दछन् । तन्त्र साधकको जमघट बाक्लो हुनाले उनीहरुलाई हेर्न समेत यहाँ यस दिनमा ठूलो मेला लाग्ने गरेको छ ।