logo
२०८१ मंसिर १० सोमवार



सुगन्ध र स्वादिलो चामलका रूपमा लिइने काला नामक धानखेती कम हुँदै

खुला |
समाज |


सुगन्ध र स्वादिलो चामलका रूपमा लिइने काला नामक धानखेती कम हुँदै
कपिलबस्तु नगरपालिकाको वडा नं. ६ मा लगाइएको कालानामक धान । तस्विर – नारद कोहार 


नारद कोहार 

तौलिहवा, मङ्सिर ४ गते । सुगन्ध र स्वादिलो चामलका रूपमा लिइने कालानामक धान लोप हुने अवस्थामा पुगेको छ । तराईका केही जिल्लामा मात्र पाइने छुट्टै पहिचान बोकेको कालानामक धानको खेती लोप हुन थालेपछि कपिलबस्तुमा काला नामक धानको उत्पादनमा निकै नै कमी आएको छ ।

स्थानीय जातको बहुमूल्य चामल मानिने कालानामकको मूल्य बजारमा अन्य चामलभन्दा दोब्बर महंगो छ । जमिन्दारहरूको प्रमुख रोजाइ तथा पाहुनाहरूको स्वागतको राम्रो परिकारका रूपमा लिइने भएकाले बजारमा यसको माग अत्याधिक छ तर कम उत्पादन, रोग तथा कीराको प्रकोप तथा ढिलो तयार हुने हुँदा यसको खेती कमैले गर्ने गरेका छन् ।

पहिला हामीले ८ देखि १० बिघा कालानामक धान लगाउने गर्थ्याैं तर उत्पादनमा कमी हुने कारणले गर्दा कालानामक धान लगाउन छाडेको कृषक राधेश्याम बरईले बताउनुभयो ।

खाँदा अति स्वादिष्ट तथा बास्नाले भरिपूर्ण भएको कालानामक धानलाई लोप हुनबाट बचाउन विशेष चाँसो लिनुपर्ने कृषक विश्वम्भर यादवले बताउनुभयो । यसको संरक्षणको लागि कृषि ज्ञान केन्द्र, स्थानीय, प्रदेश, केन्द्र सरकारले किसानहरुको लागि केही नगरेको उहाँको गुनासाे छ ।

खाँदा अति स्वादिष्ट तथा बास्नाले भरिपूर्ण भएको काला नामक धान खर्चिलो, कम उत्पादन हने तथा कीरा बढी लाग्ने हुँदा अहिले हाल बजारमा यसको मूल्य प्रतिकिलो १०० देखि १५० रूपियाँ पर्ने गर्दा कपिलवस्तुमा कमै मात्रामा यसको खेती गरिएको कपिलबस्तु नगरपालिका ११ पर्सियाका वीरेन्द्रकुमार नागबंशी बताउनुहुन्छ।

सिंचाईको व्यवस्था भएको खेतमा मात्र लाउन सकिने, धान फल्न बढी समय लाग्ने, कम उत्पादन हुने लगायतका समस्याले गर्दा अहिले कृषकहरूले यो धान लाउन छाडेका छन् । अन्य प्रजातिका धानसँगको संसर्ग गरी बढी उत्पादन गराउने प्रकारको प्रजाति बनाएर यसको जर्गेना गर्नुपर्ने उहाँको माग छ ।

कालानामक धानको लागि प्रर्वद्धन कृषि ज्ञान केन्द्रले मसिना तथा बासना धानको प्रर्द्धनको कार्यक्रम रहेको केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले बताउनुभयो । अहिले धान मिलहरुको सहकार्यमा पनि यसको प्रवर्द्धनको लागि विभिन्न कार्यक्रमहरु जस्तै वीउमा अनुदान, यान्त्रीकरणमा सहयोगलगायतका कार्यक्रजमहरु संचालन गर्दै आएको उहाँले बताउनुभयो ।

कपिलबस्तुमा कुल ८३ हजार हेक्टर खेतीयोग्य जमिन मध्ये ७२ हजार हेक्टरमा धानखेती भइरहेको छ । जसमा पछिल्ला वर्षहरूमा मात्रै पाँच हजार हेक्टरमा कालानामक धान लगाइने गरिएको थियो तर अहिले भने ३५० हेक्टरमा मात्र यसको खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?