जयकृष्ण यादव
इनरुवा, मंसिर ४ गते । सुनसरीको वराहक्षेत्र नगरपालिका अन्तरगत रहेको बराह क्षेत्र मन्दिरमा लाग्ने कार्तिक पूर्णिमाको मेला हर्षोल्लासका साथ सम्पन्न भएको छ । बराह क्षेत्र मन्दिरमा सम्पन्न भएको कार्तिक पूर्णिमाको मेलामा नेपालको विभिन्न जिल्लासहित भारत, भुटान र श्रीलंकासम्मका हिन्दु धर्मालम्बी पर्यटकहरु आएका थिए ।
यसैबीच, मेलामा ठूलो भिडभाडलाई व्यवस्थापन स्काउट सुनसरीले स्वयमसेवकको रुपमा सेवा प्रदान गरेको छ । यही मंसिर १, २ र ३ गते लागेको भक्तजनहरुको चापलाई व्यवस्थापन गर्न दर्शनका लागि सहजता प्रदान गर्ने, वृद्ध अशक्तलाई सहयोग, हराएका बालबालिका तथा अन्य व्यक्तिहरुको उद्धार र घाइतेहरुको सेवामा खटिएका थिए ।
बराह क्षेत्र संरक्षण मञ्चको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउटहरु परिचालित भएका थिए । सुनसरी आयुुक्त लक्ष्मण राईको नेतृत्वमा स्काउट टोली परिचालन भएको थियो । मेला भर्न नेपाल र भारतका हजारौं भक्तजनहरु सहभागी भएका थिए ।