राजन रावत
हुम्ला, मङ्सिर ४ गते । हुम्ला जिल्लाका पत्रकार नन्द ऐडीको निधन भएको छ । काठमाडौंको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्वन्धी रोगले ग्रस्त उपचारकै क्रममा पत्रकार ऐडीको निधन भएको हो ।
दुई हप्तादेखि काठमाडौंका बिभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएका पत्रकार ऐडीको आज बिहान सुमेरु अस्पतालको आईसीयु कक्षमा उपचार भइरहेको अबस्थामा मृत्यु भएको उहाँकी श्रीमती बबिता बुढाले बताउनुभयो । हेपाटाईटिस बी, कलेजो र मिर्गौलासम्बन्धी रोगले उहाँ पीडित हुँदै आउनुभएको थियो ।
तीस वर्षकै उमेरमा उहाँको निधन भएको हो । पत्रकार ऐडी ताकेश्वर आवाजका प्रकाशक एवं प्रधान सम्पादक हुनुहुन्थ्यो । उहाँकी २४ वर्षकी श्रीमती दुई छोरी र एक छोरा छन् । आर्थिक अबस्था कमजोर भएको कारण उहाँको उपचारमा आर्थिक समस्या भइरहेको थियो ।
पत्रकार महासंघ हुम्ला शाखाका अगुवाइमा उक्त सहयोग संङ्कलन गरिएको हो । एक दिन अगाडि पत्रकार महासंघ हुम्ला शाखाले उहाँको उपचारका लागि जिल्लामा सहयोग संकलन गरेर एक लाख २२ हजार रुपियाँ पठाएको थियो । उहाँको निधनबाट हुम्ला जिल्लाले एक युवा पत्रकार गुमाएको छ । ऐडी हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका ८ फुचाका स्थायी बासिन्दा हुनुहुन्छ ।