logo
२०८१ मंसिर ७ शुक्रवार



नेपाल एयरलाइन्सद्वारा हिमाली जिल्लामा थप उडान

खुला |
प्रदेश |


नेपाल एयरलाइन्सद्वारा हिमाली जिल्लामा थप उडान


राजन रावत
हुम्ला, मंङ्सिर ४ गते । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले हुम्ला लगायत कर्णालीका हिमाली जिल्लाका लागि उडान थप गरेको छ । यात्रुको चाप बृद्धि हुँदा यात्रामा कठिनाई भएको भन्दै उक्त एयरलाईन्सले उडान संख्या थप गरेको हो ।

नेपाल एयरलाईन्स हुम्ला शाखाका प्रमुख बलबहादुर सुनारले एयरलाइन्सले हुम्लाका लागि सहुलियत उडान थप गरेर हप्तामा तीन वटा पुर्याएको जानकारी दिनुभयो । कोरोनाकाबेला लामो समय आफ्नो सेवा बन्द गरेको उक्त एयरलाईन्सले यसअघि हप्तामा एक उडान भर्दैआएको थियो । उहाँले जिल्लामा यात्रुको समस्यालाई मध्यनजर गर्दै नेपाल एइरलाईन्सले हुम्लाका लागि उडान संख्या थपेको बताउनुभयो ।

अब नेपाल एयरलाईन्सले हुम्लाका लागि हप्तामा आईतबार, सोमवार र बिहीबार उडान भर्न सुरु गरेको छ । उहाँले यात्रुको चाप हेरेर थप उडानका लागि पनि पहल हुने बताउनुभयो । एनएले उडान संख्या थपेसँगै यात्रुहरुलाई सहज हुने अपेक्षा गरेको छ । नेपाल एइरलाईन्सले सिमकोटबाट नेपालगञ्जका लागि प्रतियात्रु भाडादर ६ हजार ९१० रुपियाँ कायम गरेको छ ।

अन्य नीजि एरलाईन्सहरुमा तारा र सीता एयरले ६ हजार तीस र समिट एयरले छ हजार १३० यात्रु भाडादर कायम गरेका छन् । यता, नेपाल एइरलाईन्सका नेपालगञ्ज प्रमुख किरण श्रेष्ठकाअनुसार हुम्ला लगायत कर्णालीका अन्य जिल्लाहरुमा पनि सहुलियत दरका उडान थप गरिएको छ । उहाँले जुम्ला र मुगुका लागि पनि हप्तामा तीनवटा उडान भर्न सुरु भएको बताउनुभयो ।

त्यसैगरि लामो समय सेवा बन्द रहेको डोल्पाका लागि पनि उडान सुचारु गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । अहिले नेपाल एयरलाईन्सले नेपालगञ्जमा एउटा जहाज नाईट–स्टे रहनेगरी व्यवस्था गरेका कारण कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा उडान भर्न सहज भएको छ ।

यसअघि सुदूरपश्चिमको बाजुरा, बझाङ लगायतका जिल्लामा पनि नेपाल एयरलाईन्सले उडान भर्न सुरु गरिसकेको छ । यसका लागि केही समय अगाडि संस्कृति पर्यटक तथा नागरिक उड्डयानमन्त्री प्रेमबहादुर आलेले कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा उडान भर्न निर्देशन दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?