गोकर्ण पौडेल
तुलसीपुर, मङ्सिर ४ गते । बाँसबाट बनाइएका विभिन्न सामग्रीहरु कोठाभरि असरल्ल परेका छन् । धन्न सामुदायिक वनकै भवनमा ती सामग्री राखिएका कारण कोठाभाडा तिर्नुपरेको छैन । तुलसीपुर १९ मा रहेको पकर्रे र कालिका मालिका किसान जलुके सामुदायिक वनका उपभोक्ताले १५ दिनसम्म बाँसका विभिन्न सामग्री बनाउने तालिमबाट सीप सिकेको बताउनुभयो ।
सीपलाई तालिममा मात्रै उहाँहरुले सीमित राख्नु भएन, व्यवहारमा पनि उतार्नुभयो । सीप सिकेका मध्येका एक हुनुहुन्छ कृष्णमती पुन । १५ दिनसम्म तालिम सिकियो त्यसपछि दुई महिनासम्म सामग्री बनायौ अहिले बिक्री नहुँदा मन खिन्न भएको उहाँले बताउनुभयो । पुनले भन्नुभयो ‘बाँस किन्न परेको छैन, तर बाँसबाहेक अन्य सामान किन्नुपर्छ, सामान नै बिक्री नभएपछि कहाँबाट किन्ने समस्या परेको छ ।’
सामान टाँस्नका लागि गम, रङ्गरोगनका सामग्री किन्नुपर्छ पुनले भन्नुभयो । पहाडमा छँदा बुवाले छिट्वा बनाएको हेरेर छिट्वा बनाउन सिकेको उहाँले बताउनुभयो । बाँसका मुढा, कलमदानी, चुरीदानी, स्ट्रे, मन्दिर, घडी फ्रेम, तस्बीर फ्रेम बनाउन सिकेको पुनले भन्नुभयो ।
कृष्णमति पुनजस्तै १६ जना महिला र चार जना पुरुषहरुले पन्ध्र दिनसम्म बाँसका कलात्मक सामग्री बनाउन सिक्नुभएको थियो । सीप सिकेकाहरुले पकर्रे कालिका कृषि वन उद्यमी समूह समेत गठन गर्नुभएको छ । समूहका अध्यक्ष रेवती विश्वकर्माकाअनुसार अहिले बस्नका लागि बनाइएका बाँसका मुढा ४० वटा, घडी र तस्बीर फ्रेम २० वटा, गमला १५ वटा, कलमदानी १५ वटा, मन्दिर ४ वटा, स्टे १० वटा, चुडादानी १० वटा छन् ।
अध्यक्ष विश्वकर्माकाअनुसार दुई दिनअघि अनुगमनमा आएका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उत्पादन भएका वस्तुहरु बिक्री वितरणका लागि केही महिना तुलसीपुरमै कोशेली घरका लागि कोठा र दुई जना जनशक्ति उपलब्ध गराउने आश्वासन दिनुभएको थियो । समूहले ती वस्तुको मूल्यसमेत निर्धारण गरेको छ । प्रति मुडा पाँच सय, फ्रेमको दुई सय, मन्दिरको तीन हजार मूल्य तोकेको छ । त्यसैगरी कलमदानी र स्टे«को मूल्य एक सय तोकिएको छ ।
पकर्रे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लोकबहादुर रोकाकाअनुसार बाँसका सामग्री बनाउन सामुदायिक वनले बाँस भने निशुल्क उपलब्ध गराएको छ । सामुदायिक वनले ती सामग्री बनाउनका लागि कोठा समेत उपलब्ध गराएको छ ।