भोटराज राई
उदयपुर, मङ्सिर ५ गते । स्थानीय सरकारको गाउँ उज्यालो बनाउने अभियान अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेको निपाने गाउँमा विजुलीबत्ती बलेको छ । स्थानीय सरकार आउनुअघि नै १० वर्षदेखिको स्थानीयको विजुली बाल्ने चाहना बल्ल पूरा भएको स्थानीय राम राईले बताउनुभयो । उहाँका अनुसार अब गाउँका बालबालिकाले उज्यालोमा पढ्न पाउने छन् भने गृहिणीले उज्यालोमा काम गर्न पाउने भएका छन् ।
गाँउलेहरुले विजुलीबाट गाउँमा रेडियो बजाउन, टेलिभिजन हेर्न, मेसिन घट्टा चलाउन सक्ने भएका छन् । साथै, विजुलीबाटै खाना पकाउन, पंखा, फ्रिजआदि चलाउन सक्ने भएका छन् । गत तिहारको लक्ष्मीपूजाका दिनदेखि बाल्न सुरु गरिएको विजुलीको पोल, तार तथा मिटरबक्स विस्तार गर्न वडा, नगरपालिका, स्थानीय सामुदायिक वनको प्रमुख योगदान र भूमिका रहेको छ । विद्युत कार्यालयसमेतको सहयोगमा राष्ट्रिय प्रशारणको विद्युत विस्तार भएको हो । स्थानीय सरकारलाई चारवर्ष यता वडामा नब्बे प्रतिशतभन्दा बढी गाउँहरु उज्यालो बनाउन सफलता मिलेको वडाध्यक्ष कुरुङ राईले बताउनुभयो ।
विजुली विस्तारसंगै गाउँको स्वरुप नै परिवर्तन आएको छ । विगतमा ओझेलमा परेको एकान्त ठाउँ अब उज्यालो बन्दा गाउँलेहरु दंग छन् । यसवर्ष उज्यालो तिहार मनाएका गाउँलेहरुले अव अन्धकारलाई विदा गरेको महशुस गरेका छन् ।
सरकारले अहिले २० युनिट भन्दा मुनि बाल्दा विद्युत निःशुल्क गरिदिएको छ । विपन्न वर्गको बसोबास रहेको सो गाउँमा निःशुल्क विजुली बन्ने देखिएको छ । विजुली अहिलेको युगमा मानवीय विकासका लागि अपरिहार्य कुरा भएकाले सदुपयोगमा ध्यान दिनुपर्ने नेपाल पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष महेश्वर चामलिङले बताउनुभयो । गाउँमा विजुली बल्दा खुसीयाली मनाएका गाउँलेहरुले हर्षोल्लासका साथ तिहार मनाउँदै सरकारले खानेपानी र सडकका अधुरो कामहरु पूरा गरिदिन आग्रह गरेका छन् ।