logo
२०८१ मंसिर ८ शनिवार



राष्ट्रपति भण्डारीद्वारा उद्घाटन हुने कार्यक्रमको तयारी पूरा

खुला |
प्रदेश |


राष्ट्रपति भण्डारीद्वारा उद्घाटन हुने कार्यक्रमको तयारी पूरा


नगेन्द्रकुमार कर्ण
जलेश्वर, मङ्सिर ५ गते । महोत्तरी जिल्लाको मटिहानीमा नवनिर्मित रङ्गशालाको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिने उदघाटन कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले नगरपालिकाद्वारा निर्माण गरिएको रङ्गशालाको उदघाटन सोमबार राष्ट्रपतिबाट १० बजे गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । कार्यक्रमको तयारी पूरा भइसकेको उहाँले जानकारी दिनुभयो ।

जलेश्वरको परिकौलीमा रहेको नेपाली सेनाको रणभीम गणमा हेलिकप्टर ल्याण्ड गरिने र सोही ठाउँमा राष्ट्रपतिको स्वागत गरी सवारीबाट करिब ७ किलोमिटर दूरीमा रहेको मटिहानी लगिने कार्यक्रम रहेको जानकारी दिनुहुदै नगरप्रमुख मण्डलले भन्नुभयो, ‘मटिहानीमा सर्वप्रथम मटिहानी मठमा पूजाअर्चना गरी त्यहाँबाट नेपालकै सबैभन्दा पुरानो विद्यालय राजकीय संस्कृत माविको अवलोकनपश्चात रङ्गशालाको उदघाटन गरिनेछ ।’

आर्थिक वर्ष २०७४–७५ मा शुरु गरिएको रङ्गशालाको निर्माणमा करिब एक करोड पाँच लाख रुपियाँ खर्च गरिएको जानकारी दिनुहुँदै नगरप्रमुख मण्डलले यसक्षेत्रमा यतिको ठूलो रङ्गशाला यसअघि नभएको जानकारी दिनुभयो । एक बिघा नौ कठ्ठा क्षेत्रफलमा फैलिएको यस रङ्गशालामा क्रिकेट, फुटबल, भलिबल, कबड्डी, जुडोकराँटे लगायतका खेल खेल्न सकिने बताइएको छ ।

रणभीम गण परिकौलीबाट मटिहानीसम्म पुग्ने बाटोलाई सरसफाइ गरिएको छ भने खाल्डो रहेको ठाउँहरुमा बालुवा गिट्टीले मिलाइ पानी छर्किएको छ । नगरप्रमुख मण्डलले सुरक्षासमितिको बैठक बसेर सुरक्षाका उपायहरु समेत अवलम्बन गरिने जानकारी दिनुहुँदै राष्ट्रपतिको स्वागतका लागि मटिहानी नगरवासी आतुर रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?