प्रेमराज सिम्खडा
कालीकोट, मङ्सिर ६ गते । कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयको नयाँ भवन निर्माण रोकिएको छ । नयाँ भवन निमार्णका लागि ठेक्का भएर सम्झौता भई काम सुरु भए पनि बजेट अभावका कारणले काम अलपत्र परेको हो ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशका दश जिल्लामा १४ वटा प्रहरीका नयाँ भवन बनाउने भनेर ६३ करोडमा बोलपत्र आव्हान गरेको थियो । गाल्भा क्याराभान सुपरस्टार जे भीले चार वटा भवनमा ठेक्का पारेको थियो । वि.सं. २०७५ सालको जेठ महिनामा ठेक्का सम्झौता भएर काम सुरु भए पनि बजेट अभावले भवन अलपत्र परेको छ ।
सरकारसँग ४५ करोड मात्र बजेट थियो । त्यसैलाई बढाएर ६३ करोड बनाएर ठेक्का गरेको र पछि त्यो बजेट नआएकाले निर्माण कम्पनीलाई भुक्तानी दिन नसक्दा भवन अलपत्र परेका सरकारी निकायको भनाइ छ । सपुरस्टार कन्ट्क्सन प्रालिका प्रोपाइटर तारा शाहका अनुसार तत्कालीन प्रदेश प्रहरी कार्यालयले खोलेको ठेक्कामा सम्झौता हुँदा प्रदेश सरकारले बजेट दिने उल्लेख थियो । तर पछि बजेट नै नदिएपछि तत्कालीन प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अदालतको आदेश भएमा भुक्तानी दिन सकिने भनेर सुझाव दिएपछि निर्माण व्यवसायी माथिल्लो कर्णालीका लागि जुम्ला र तल्लो कर्णालीका लागि सुर्खेतमा मुद्दा दायर गर्न पुगेका थिए ।
उच्च अदालत, सुर्खेतले मिति २०७७ साल मङ्सिर १० गते फैसला गर्दै सम्झौता अनुसारको भुक्तानी दिन आदेश गरेपछि तल्लो कर्णालीमा बनेका भवनको भुक्तानी पाएको शाहको भनाइ छ । तर उच्च अदालत जुम्लाले भने निवेदन नै खारेज गरेपछि कालीकोटको थिुर्पु र हुम्लाको कवाडीमा बनेको भवनको भुक्तानी हालसम्म रोकिएको बताउनुभयो ।
अलपत्र परेको इलाका प्रहरी कार्यालय थिुर्पु कालीकोटको भवन तस्विरः प्रेमराज सिम्खडा ।