विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर ७ गते । झापाको दमकस्थित हम्सेदुम्से सामुदायिक वनभित्र तथा आसपासको क्षेत्रमा केही दिन यता तीन वटा जङ्गली हात्ती देखा परेपछि स्थानीयहरु त्रसित भएका छन् । मानिसहरु आवतजावत भइरहने दमक ३ स्थित भुटानी शरणार्थी शिविर नजिक रहेको पीच सडकमा समेत हात्तीहरु देखा पर्न थालेपछि स्थानीयहरु हिँड्डुल गर्न समेत डराउन थालेका छन् ।
प्रायः जसो धान पाक्ने यो समयमा भारतबाट जङ्गली हात्तीहरु आएर किसानको धानबालीमा क्षति पुर्याउँदै आएका छन् । वडा नं. ३ का वडाध्यक्ष नवीन बरालका अनुसार स्थानीयहरुलाई सुरक्षित रहेर बस्नका लागि आग्रह गरिएको छ । यस क्षेत्रमा लामो समयदेखि हात्तीको समस्या रहँदै आएको पनि उहाँले जनाउनुभयो ।
दुई दिन यता बस्ती नजिक हात्ती देखिएपछि स्थानीयहरु रातभर निदाउन सकेका छैनन् । साँझपख सडक आसपासमा नै हात्ती देखिएपछि केही बेर बेलडाँगी सडकमा आवतजावत पनि बन्द भएको बताइएको छ । हात्तीलाई नबिच्क्याउँदा र नचलाउँदा खासै केही नगर्ने पनि स्थानीयहरुले बताएका छन् ।
हात्तीको समस्या समाधानका लागि स्थानीयले बारम्बार माग गर्दै आएका छन् । टर्च लाइट वितरण, विद्युतीय साईरनको प्रयोग, हात्ती धपाउनका लागि रात्रिकालीन गस्तीजस्ता परम्परागत उपायहरु अपनाउने गरिएको वडा नं. २ का वडाध्यक्ष प्रजापति सापकोटाले बताउनुभयो ।
दमकको वडा नतं. २ र ३ मा हम्सेदुम्से सामुदायिक वन रहेकाले दुई वटै वार्ड हात्तीबाट पीडित रहेको उहाँको भनाइ छ । यो समयमा झापा जिल्लाभर नै हात्तीको समस्या रहने गरेको छ । धान पाकेर किसानले थन्क्याउने यो समयमा हुलका हुल हात्तीहरु भारतबाट नेपाल प्रवेश गर्ने गरेका छन् । हात्तीले वर्षेनी झापामा ठूलो मात्रामा धनजनको क्षति पुर्याउँदै आएको छ ।