सलिम मियाँ
बिजुवार (प्यूठान), मङ्सिर ८ गते । नेपाली काँग्रेस प्यूठानको जिल्ला सभापतिमा विष्णुकुमार गिरी निर्वाचित हुनुभएको छ। वि.स. २०५५ सालमा नेविसंघबाट गिरीले राजनीति सुरु गर्नुभएको थियो । मंगलबार भएको निर्वाचनमा प्रत्यासी शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै उहाँ सभापतिमा विजयी
हुनुभएको हो ।
जिल्ला सभापति पदका लागि खसेको एक हजार ६९ मतमध्ये गिरीले ५६६ मत ल्याउनुभयो भने रिजालले ४९४ मत प्राप्त गर्नुभयो । नौ वटा मत बदर भएको थियो । जिल्ला कार्यसमितिका सबै सदस्य र महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।
जिल्ला उपसभापतिमा देवेन्द्र वर्मा, इश्वर सिंह विष्ट र सचिवमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर, सहसचिवमा नारायण ज्ञवाली र प्रमोद पोखेल निर्विरोध चयन हुनुभएको छ ।