logo
२०८१ मंसिर ८ शनिवार



तनहुँ काँग्रेसको क्षेत्रीय सभापतिमा मौरती र खनाल विजयी

खुला |
प्रदेश |


तनहुँ काँग्रेसको क्षेत्रीय सभापतिमा मौरती र खनाल विजयी


अमरराज नहकी
तनहुँ, मङ्सिर ८ गते । नेपाली काँग्रेस तनहुँको क्षेत्र नम्बर १ को सभापतिमा श्यामकुमार मौरती र क्षेत्र नम्बर २ को सभापतिमा चुडामणी खनाल विजयी हुनुभएको छ । मौरतीले विश्वनाथ बास्तोलालाई ८३ मतले पछि पार्दै र खनालले कृष्णराज पण्डितलाई ५१ मतले पछि पार्दै सभापति पदमा निर्वाचित हुनुभएको हो ।

सभापति पदमा निर्वाचित मौरतीले ४८५ र बाँस्तोलाले ४०२ मत प्राप्त गर्नुभएको थियो । यसैगरी खनालले ४४७ पण्डितले ३९६ मत प्राप्त गर्नुभयो । क्षेत्र नम्बर १ मा मौरती प्यानलबाट सचिवमा दयानिधी नराल र राजु बानियाँले क्रमश ४६३ र ४५९ मत ल्याएर विजयी हुनुभयो ।

सहसचिवमा शैलेस खाती र युवराज आलेले क्रमश ४७४ र ४३६ मत प्राप्त गरी विजयी बन्नुभयो । गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोवाटे विश्वकर्मा क्षेत्र १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधीमा निर्वाचित बन्नुभएको छ ।

दलित खुल्लातर्फ मन्त्री बिकले ५७३ मत पाउनु भएको थियो भने प्रत्यासी रामकृष्ण बिकले २५९ मत ल्याउनुभयो । मन्त्री बिकले आफ्ना निकटम प्रतिद्वन्द्वीलाई ३१४ मतको ठूलो मतअन्तरले पछि पार्दै बिजयी बन्नुभयो ।

केन्द्रीय महाधिवेशन प्रतिनिधीमा प्रत्यक्ष महिलातर्फ चिनु पोख्रेल, नारायणी अधिकारी, पुष्पादेवी श्रेष्ठ र विणा कैनी विजयी हुनुभयो । प्रत्यक्ष खुलातर्फ आनन्दराज त्रिपाठी, दीपक भट्टराई, देवकुमार श्रेष्ठ, वैकुष्ठ न्यौपाने, रघुनाथ पौडेल, रामचन्द्र अधिकारी, रामचन्द्र पोख्रेल, रेशमलाल गुरुङ, लक्ष्मीप्रसाद आचार्य र सुरेश भट्टराई विजयी हुुनुभयो ।

त्यसैगरी खसआर्य खुल्लातर्फ शान्तिरमण वाग्ले ५६२ मत र भानु नगरपालिका १३ का वडाध्यक्ष रामबहादुर बानियाँले ४६७ मत ल्याएर विजयी बन्नुभयो । आदिवासी जनजाति महिलातर्फ गण्डकी प्रदेश सभासदस्य सरीता गुरुङले ५४० र भानु नगरपालिकाकी उपप्रमुख आशा थापाले ४०३ मत ल्याएर विजयी बन्नुभयो ।

आदिवासी जनजाति खुल्लातर्फ अशोककुमार श्रेष्ठले ४६७, टेकबहादुर गुरुङले ४३६ र पूर्णबहादुर गुरुङले ४२१ मत पाएर विजयी बन्नुभएको छ । दलित महिलातर्फ चन्द्रमाया परियारले ४८८ मत ल्याएर विजयी बन्नुभयो । त्यसैगरी अल्पसंख्यकतर्फ खरसिंह दरैले ५०९ मत ल्याएर विजयी बन्नुभयो ।

क्षेत्र नम्बर १ मा सचिवमा खनाल प्यानलका जीवन चन्द तथा सन्तोष घिमिरे निर्वाचित हुनुभयो । सहसचिवमा यामबहादुर सारु र चित्र राना विजयी हुुनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?