logo
२०८० चैत्र १६ शुक्रवार



चिनियाँ कामदार नआएपछि नौतले दरबार पुनर्निर्माण काम अवरुद्ध

खुला |


चिनियाँ कामदार नआएपछि नौतले दरबार पुनर्निर्माण काम अवरुद्ध
तस्विरः केशव गुरुङ/गोरखापत्र अनलाइन


काठमाडौं, मंसिर ८ गते । मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले २०७६ चैतपछि गति लिनसकेको छैन । चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो । सन् २०२२ मा सक्नेगरी सम्झौता भएको नौतले दरबार पुनःनिर्माण कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको पुनःनिर्माणमा प्राविधिक सहयोग गरिरहेको पुरातत्व विभागले जनाएको छ ।

पुनःनिर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरिवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनाल २०७६ चैतअघि नै चिनियाँ नयाँवर्ष मनाउन गएका कामदार कोरोना महामारीका कारण आउन नपाएपछि काममा अवरोध भएको स्वीकार्नुभयो ।

कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको नौतले दरबार पुनःनिर्माणको भौतिक प्रगति अहिले ८५ प्रतिशत रहेको उहाँले सुनाउनुभयो । पछिल्लो समय कोरोना जोखिम कम हुँदै गए पनि नेपाल चीनबीचको उडान नखुलेका कारण कामदार आउन पाएका छैनन् । कामदार आउन नपाए पनि यहाँ गर्न सकिने काम भइरहेको दरबार हेरचाह अड्डाले जनाएको छ ।

विभागका महानिर्देशक दामोदर गौतम कोरोना सुरु हुनुअघि दातृराष्ट्रले गरिरहेका काममध्येमा उत्कृष्ट काम छिटोगतिमा भइरहेको बताउनुभयो । समय अझै बाँकी रहेकाले तोकिएको समयमा काम सम्पन्न गरी दुई देशबीचको सम्बन्धमा थप प्रगाढता आउने उहाँले सुनाउनुभयो । विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानो स्वरुपलाई नबिगारी क्षतिग्रस्त भागको प्रबलीकरण एवं संरक्षणको काम भइरहेको छ ।

करिब १६ करोड लागतमा दरबार पुनःनिर्माण भइरहेको छ । दरबार पुनर्निर्माणका लागि २०७४ साउन ३२ गते शिलान्यास गरिएको थियो । नेपाल भ्रमणमा रहनुभएका तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्तरूपमा दरबार पुनःनिर्माणको शिलान्यास गर्नुभएको थियो । दरबार विसं १८२६ मा पृथ्वीनारायण शाहले निर्माण गराउनुभएको थियो ।

सम्झौताअनुसार अझै करिब एक वर्ष अर्थात् सन् २०२२ को नोभेम्बरसम्म म्याद रहेको नौतले दरबारको काम चिनियाँ कामदार अब आएमा समयमा सकिने विश्वास गरिएको छ । कोरोना जोखिम कम भएसँगै विदेशी पर्यटकसमेत हनुमानढोका दरबार क्षेत्रको अवलोकनमा आउने थालेकाले यस क्षेत्रमा भूकम्पले क्षतिग्रस्त संरचना छिटो पुनःनिर्माण सक्नुपर्ने भएको छ । आगामी तीन वर्षमा वसन्तपुर दरबार क्षेत्रमा भूकम्पले क्षति गरेका संरचना पुनःनिर्माण गरिसक्ने गरी काम अघि बढाइएको दरबार हेरचाह अड्डाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?