logo
२०८१ मंसिर ८ शनिवार



प्रजातन्त्र सेनानी गोवर्धन शर्माको स्मृतिमा आँखा उपचार केन्द्र स्थापना

खुला |
प्रदेश |


प्रजातन्त्र सेनानी गोवर्धन शर्माको स्मृतिमा आँखा उपचार केन्द्र स्थापना


अमरराज नहर्की
तनहुँ, मङ्सिर ८ गते । प्रजातन्त्रका सेनानी तथा नेपाली काँग्रेस तनहुँका संस्थापक नेता गोवर्धन शर्मा पोखरेलको सम्झनामा गोवर्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याइएको छ ।

तनहुँको सदरमुकाम दमौलीस्थित जिल्लास्तरीय दमौली अस्पतालमा केन्द्र सञ्चालनमा ल्याइएको हो । आँखाका विरामीलाई विशेषज्ञ चिकित्सकबाट उपचार गर्न मद्दत पुग्ने उद्देश्यसाथ केन्द्र सञ्चालनमा ल्याइएको दमौली अस्पतालले जनाएको छ ।

केन्द्र सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले डेढ करोड रुपियाँ विनियोजन गरेको दमौली अस्पताल प्रमुख डा. सुनिल पौड्यालले जानकारी दिनुभयो । ५०–५० लाख गरी तीन पटकमा रकम भुक्तानी गर्ने विनियोजन गरिएकोमा चालु आर्थिक वर्षको लागि ५० लाख रकम निकासी भइसकेको उहाँले जानकारी दिनुभयो ।

‘‘जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार तथा सञ्चालन खर्चका लागि रकम विनियोजन भएको छ’’ डा. पौड्यालले भन्नुभयो । हाल नेत्र सहायक लक्ष्मी चौधरी आँखा परीक्षण गर्दै आउनुभएको छ । चाँडै नै विशेषज्ञ चिकित्सक ल्याउने तयारी भइरहेको डा. पौड्यालले बताउनुभयो ।

तत्कालका लािग करार चिकित्सकहरु नियुक्त गरेर सेवा सञ्चालन गरिने उहाँले बताउनुभयो । आँखा विरामी पोखरा, चितवन तथा काठमाडौं जानुपर्ने बाध्यतालाई हटाउन केन्द्र सञ्चालन गर्न माग गरेबमोजिम गण्डकी प्रदेश सरकारले रकम विनियोजन गरेको डा. पौड्यालले बताउनुभयो ।

जिल्लामा आँखा उपचार केन्द्र सञ्चालन आएपछि स्थानीय वासिन्दा खुशी भएका छन् । विभिन्न समस्याका कारण आँखाको उपचार गराउन महंगोमा जिल्ला बाहिर जानुपर्ने बाध्यतामा रहेका स्थानीय आफ्नै जिल्लामा उपचार केन्द्रको स्थापना भएपछि गाउँमै सेवा पाइने भन्दै खुशी भएका हुन् ।

‘‘केन्द्र सञ्चालन ल्याइएकोले मोतियाबिन्दुका, आँखा फुलो परेको, चोटपटक लागेको अवस्थामा विरामीलाई शल्यक्रिया गर्न तथा विशेषज्ञ चिकित्सकबाट परीक्षण तथा सल्लाह लिन पाइने विश्वास लागेको जेष्ठ नागिरक मिलन केन्द्र तनहुँका अध्यक्ष देवनिधी पन्तले बताउनुभयो ।

दैनिक २० देखि ३० जना आँखाका विरामी उपचारका लागि आउनेगरेको डा. पौड्यालले जानकारी दिनुभयो । तनहुँको व्यास नगरपालिका– ११ राम्चेमा जन्मनुभएका स्व. शर्मा काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा तनहुँको सभापति हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?