logo
२०८० चैत्र १५ बिहीवार



लागूऔषध तस्करीको ट्रान्जिट बन्दै झापा

खुला |


लागूऔषध तस्करीको ट्रान्जिट बन्दै झापा


दमक, मङ्सिर ९ गते । पछिल्लो समय झापा जिल्ला लागूऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ । खुला सिमाका कारण पछिल्लो समय झापा लागूऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो । जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँजसो लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने क्रम बढ्दै गएपछि लागूऔषधको त्यस्तो अवस्था बाहिर आएको हो ।

सरकारको ऐन तथा नीतिलाई लत्याउँदै कतिपय औषधि पसलमा समेत त्यस्ता प्रतिबन्धित लागूऔषध बिक्री वितरण भइरहेको बताइएको छ । सरकारले तोकेका मापदण्डविपरीत औषधि व्यवसायीले खुलेआम लागुपदार्थ बिक्री वितरण गरिरहेका कारण पनि समस्या बन्दैगएको पाइएको छ ।

लागूऔषधको दुरुपयोगको समस्या दिनानुदिन बढिरहेकाले झापा प्रहरी आक्रमक शैलीमा लागूऔषध कारोबारी पक्राउ गर्न थालेको प्रहरीले जनाएको छ । लागूऔषध ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी हुने गरेको तथ्याङ्कले देखाएको छ । विश्वव्यापी समस्याका रुपमा रहेको लागूऔषध प्रयोग र कारोबार झापामा पनि जटिल बन्दै गएको प्रहरी अधिकारीको दाबी छ । लागूऔषध प्रयोग गरेका कारण पनि जिल्लाको शान्ति सुरक्षामा समेत नकारात्मक असर परिरहेको प्रहरीले जनाएको छ । बाहिरी देशमा सङ्गठित र सक्रिय गिरोहको सञ्जालले गर्दा पनि नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वी काँकडभिट्टा र दक्षिणी गौरीगञ्ज भारतीय नाकाबाट बढीजसो लागूऔषध जिल्लामा भित्रिने गरेको छ । त्यो नाकाहुँदै कारोवारीले जिल्लाको सहरी क्षेत्र धुलाबारी, चारआली, बिर्तामोड, भद्रपुर, दमकलगायतका क्षेत्रमा पु¥याउने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार खुला सीमाका कारण नेपाल र भारतको स्थलमार्ग हुँदै ठूलो परिणाममा लागूऔषध ओसारपसार हुने गरेको छ । भारतबाट ब्राउन सुगर, हेरोइन, कोकिनलगायत लागूऔषध नेपाल आउने गरेको पाइएको छ । नेपालबाट गाँजा, चरेस र अफिम ठूलो परिणाममा भारततर्फ तस्करी हुनेगर्छ ।

सङ्गठित रुपमा हुने लागूऔषध तस्करी रोक्न प्रहरीले प्रयास गर्दै आए पनि सफल हुनसकेको छैन । तस्कर समूहले विभिन्न उपाय लगाएर लागूऔषधको कारोबार गरिरहेको र त्यसलाई नियन्त्रण गर्न प्रहरी परिचालित भइरहेको उहाँको भनाइ छ । झापा जिल्लामा गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालू आर्थिक वर्ष २०७७/७८ को मङ्सिरसम्म लागुऔषधका मुद्दा ६५ दशमलव ७ प्रतिशतले वृद्धि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७ देखि २०७८ मङ्सिरसम्म ७९० लागूऔषध कारोबारी पक्राउ परेका छन् । गत आर्थिक वर्षमा लागूऔषधसम्बन्धी कसुरमा प्रहरीले १८२ जनालाई पक्राउ गरेको थियो । अघिल्लो आर्थिक वर्षमा लागूऔषध सम्बन्धीका ११८ मुद्दा दर्ता भएका थिए । तर चालू आर्थिक वर्षको यो अवधिमा लागूऔषध प्रयोग तथा ओसारपसारमा संलग्न हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश १४ देखि ४० वर्ष उमेरसम्मका छन् । उनीहरूले शरीरका विभिन्न भागमा लागुऔषध लुकाएर ल्याएका थिए । पक्राउ पर्नेहरूमध्ये अधिकांशले आफू भरिया भएको बताउँछन् । लागूऔषध सीमा कटाएबापत रु एक हजारदेखि १० हजारसम्म ज्याला पाउने उनीहरू बताउँछन् ।

लागूऔषध प्रयोगकर्ताहरूका अनुसार नेपाल–भारत चल्ने बस, सहज रूपमा सीमावारपार गर्ने रिक्सा, मोटरसाइकल, मालवाहक ट्रक र बाह्रैमास किनमेलका लागि काँकडभिट्टा र गौरीगञ्ज बजार जाने नेपालीको भीडबाट प्रहरीको आँखा छल्न सहज हुने लागूऔषध मुद्दामा जेलजीवन काटिरहेका एक युवा बताउँछन् । जहिल्यै भीडभाड हुने मुख्य नाका र त्यसवरपर नेपाल प्रहरीको निगरानी कम पुग्दा लागूऔषध तस्करले खेतबाट रातसाँझको समयमा समेत लागूऔषध नेपाल भित्रियाउने उहाँले बताउनुभयो । काँकडभिट्टा र गौरीगञ्जमा रु डेढ सयदेखि दुई सय पर्ने लागूऔषध काठमाडौं, चितवन र पोखरा पु-याउँदा रु एक हजारदेखि तीन हजारसम्म प्रतिडोज मूल्य पर्ने भएकाले तस्करहरू यस नाकातर्फ पल्किएको ती युवाको भनाइ छ ।

लागूओसारपसारका घटनामा कानुन कठोर भए पनि नियन्त्रणका उपाय भने प्रभावकारी देखिएका छैनन् । प्रहरीले ओसारपसारमा संलग्न साना भरिया समाते पनि मुख्य नाइके तथा कारोबारी पक्राउ परेका घटना भेटिँदैनन् ।

विदेशी नागरिकले लागूऔषध नेपालको सीमानासम्म ल्याइदिने र त्यहाँबाट भने नेपालीले लागूऔषध स्थानीयस्तरमा पु¥याउने गरेको पाइएको छ । जसकाकारण मुख्य कारोबारी पक्राउ गर्न हम्मेहम्मे पर्ने गरेको प्रहरीको भनाइ छ । त्यसो त नेपालमा प्रतिबन्धित लागूऔषध भारतीय बजारमा सहजै खरिद गर्न पाउने भएकाले पनि नेपाली प्रयोगकर्ताका लागि भारतीय बजार रोजाइँमा पर्ने गरेका प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

लागूऔषधको कारोबार तथा प्रयोगकर्ता घटाउन सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले काम गरिआएपनि झापामा भने खासै प्रभावकारी बन्न नसकेको सरोकारवालाले बताउँछन् । झापामा एक दर्जन बढी गैरसरकारी संस्थाले जिल्लाभरि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिआएका छन् । त्यतिकै सङ्ख्यामा लागूऔषध प्रयोगकर्ताका लागि सुधार केन्द्र सञ्चालनमा छन् ।

सरकारी तथ्याङ्कका अनुसार अहिले देशभर लागूऔषध प्रयोगकर्ताको सङ्ख्या दुई लाखभन्दा बढी रहेको छ । पुरुषको सङ्ख्या बढी भए पनि महिला पनि लागूऔषध कारोबारमा सक्रिय रहेको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?