logo
२०८१ मंसिर ८ शनिवार



पुल अभावमा स्थानीयको जोखिमपूर्ण यात्रा

खुला |
प्रदेश |


पुल अभावमा स्थानीयको जोखिमपूर्ण यात्रा


सञ्जयकुमार मिश्र
गौर, मङ्सिर ११ गते । रौतहट गौर नगरपािलका टिकुलियास्थित लालबबकैया नदीमा पुल निर्माण नहुँदा बाँसको चचरी (लचका) बाट जोखिम मोलेर आवतजावत गर्न स्थानियवासीहरु बाध्य छन ।

सदरमुकाम गौर र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमा विगत आठ बर्षदेखि निर्माणाधिन अवस्थामा रहेको पक्की पुलको निर्माण सम्पन्न भएको छैन । पुल नबन्दा र सर्वसाधारणलाई वारपार गर्न समुचित रुपमा डाइभर्सनको निर्माण समेत नहुनाले बाँसको लचकाबाट जोखिम मोल्दै आवतजावत गर्नुपर्ने बाध्यता छ ।

गौरबाट ईशनाथ नगरपालिका कार्यालयमा पुग्न कर्मचारी तथा सर्वसाधारणलाई ५ किलोमिटर बाटो सडकखण्ड पर्ने लालबकैया नदीमा डाइभर्सन नबन्दा १७ किलोमिटरको घुमाउरो सडक भएर जानुपर्ने बाध्यता रहेको स्थानिय ग्रिसनन्दन सिंहले बताउनुभयो । पुल निर्माण नहुँदा पैदल, साईकल, मोटरसाईकल बाँसको लचकाबाट जसोतसो पार गर्ने भएपनि चारपाङ्ग्रे लगायत ठूला गाडी भने पार गर्न मिल्दैन ।

पुल निर्माणका लागि स्थानीयवासीले माग गरेपनि सुनुवाइ नभएको उहाँहरुको गुनासो छ । यस वर्ष नगरपालिकाले डाइभर्सन निर्माणमा चासो नदिइएको नगरवासीहरुको गुनासो छ । ईशनाथ र गौर नपा दुवैको पहलमा पुल निर्माणको काम हुनुपर्ने स्थानीयहरुको भनाइ छ ।

टिकुलियास्थित लालबकैया नदीमा २ सय २५ मिटर लामो पुल निर्माण गर्न शहरी विकास मन्त्रालयसंग १६ करोड ८६ लाख रुपियाँको लागतमा पप्पु कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । पुल निर्माण गरेर हस्तान्तरण गर्ने समय सकिए पनि निर्माणको आधा पनि काम भएको छैन ।

लालबकैया नदीको पुल २०७४ असार २५ गते निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्नेगरी २०७१ असार १६ मा ठेक्का सम्मmौता गरिएको थियो । पप्पु कन्ट्रक्सनको लापरवाही कारण समयमा पुल निर्माण हुन नसकेको स्थानीयको गुनासो छ ।

पुल निर्माण छिटो हुनुपर्ने मागसहित स्थानियवासीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुमmाइसकेका छन् । तर पनि सुनुवाइ नभएको गौर नपा ४ टिकुलियाका वडाध्यक्ष भुवनेश्वर शाहीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?