देवराम प्रसाद यादव
सप्तरी, मङ्सिर १२ गते । सप्तकोशी नदीमा पाँच साता नबित्दै शनिबार पुनः एक जनाले हाम फालेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित ब्यारेजको ५२ नम्बरको ढोकामा झापाको दमक नगरपालिका–६ का ४५ वर्षीय सुभाष नेपालले हाम फालेका हुन् ।
शनिबार दिउँसो हाम फालेर बेपत्ता भएका नेपालको शव बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । ‘दिउँसो पौने १२ बजेतिर नेपालले नदीमा हामफालेसँगै खोजतलास थाले, सोही क्रममा दिउँसो साढे २ बजेतिर उहाँको शव बरामद भयो’ उहाँले भन्नुभयो –‘यद्यपि, के कति कारणले उहाँले हाम फालेको रैछ । अहिले खुल्न सकेको छैन ।’
घटनाको मुचुल्का पश्चात् थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो । मृतक नेपाल स्वास्थ्य कार्यालय मोरङमा अहेव पदमा कार्यरत थिए ।
प्रत्यक्षदर्शीहरुका अनुसार ‘टिकटक’ बनाउने क्रममा उनी पुलबाट नदीमा खसेका थिए । यसअघि गत कार्तिक ६ गते पनि ब्यारेजमा को ३६ प ९२५५ नम्बरको मोटरसाइकल रोकेर सुनसरीका तिलक दाहालले नदीमा हाम फालेर बेपत्ता भएका थिए । उनी अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।