logo
२०८१ मंसिर ७ शुक्रवार



ग्रामीण महिलाको कृषि क्रान्तिः तिरखडेनी बन्यो सिकाइ केन्द्र

खुला |
प्रदेश |
समाज |


ग्रामीण महिलाको कृषि क्रान्तिः तिरखडेनी बन्यो सिकाइ केन्द्र
बैतडीको तिरखडेनी पुगेका चार जिल्लाका अगुवा महिला किसान र भातका जनप्रतिनिधि । तस्बिरः गोकर्ण दयाल


 

गोकर्ण दयाल
बैतडी, मङ्सिर १३ गते । बैतडी सदरमुकामबाट शनिबार आठ वटा गाडी धुलो उडाउँदै दशरथचन्द नगरपालिका–१० तिरखडेनी गाउँ पुग्दा मेलाको जस्तै रौनक देखिन्थ्यो । गाडीमा कञ्चनपुर, डडेल्धुरा, दार्चुला, बैतडीका अगुवा महिला किसान र भारतको पिथौरागढ जिल्लाका स्थानीय जनप्रतिनिधि हुनुहुन्थ्यो ।

चार जिल्लाका अगुवा महिला किसान र भारतको पिथौरागढ जिल्लाका जनप्रतिनिधिलाई स्वागत गर्न दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा र उप प्रमुख मीना चन्द चढेको गाडी पनि तिरखडेनी गाउँ पुगेर रोकियो ।

बैतडीको तिरखडेनीको बाँझो जग्गामा सिँचाई पुगेपछि अन्नबाली र तरकारीले गाउँ हराभरा मात्र भएको छैन, नेपालका चार जिल्ला र भारततर्फका अगुवा महिला किसानको सिकाइ केन्द्र बन्न पुगेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो ।

महाकाली नदीसँग सीमा जोडिएका कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका ५२ जना अगुवा महिला किसान शनिबार बैतडीको तिरखडेनी गाउँ पुग्दा गाउँमा मेला लागेजस्तै भएको स्थानीय अगुवा किसान कौशा बुडालले बताउनुभयो ।

महकालीको पानी सदुपयोग गरेर बाँझो जग्गामा सिँचाई पु¥याउन दशरथचन्द नगरपालिकाको १५ लाख ८५ हजार रुपियाँ सहयोगमा स्थानीय रुडेस संस्थाले गत वर्ष महाकालीबाट लिफ्ट सिँचाइ योजना बनाएको थियो ।

सिँचाइ पुगेपछि तिरखडेनीका किसानले वर्षदिन नपुग्दै तीन वटा बाली भित्र्याएर अहिले ४० क्वीन्टल आलुको बीऊ रोपेका छन् । सिँचाइ पुगेपछि वर्षदिनमा चार वटा खेती गर्न सफल भएको स्थानीय अगुवा महिला किसान मालती वुडालले बताउनुभयो ।

“आकाशे पानीको भरमा खेती गर्दा खान पुग्दैनथ्यो, सिँचाइ पुगेपछि हामीले एक वर्षमै गहुँ मकै र धान भित्र्याइसकेका छौं,” बुडालले भन्नुभयो, “खेतमा अहिले ४० क्वीन्टल आलुको बीऊ रोपेका छौं । केही महिनामै छ हजार क्वीन्टल आलु उत्पादन हुनेछ ।”

तिरखेडेनीका महिलाले पञ्चकोटी महिला सशक्तिकरण केन्द्र गठन गरेर सामूहिक तरकारी खेती गर्दै आइरहेका छन् । तिरखडेनीका महिलाको नमुना काम हेर्न कञ्चनपुरबाट बैतडी आइपुगेको अगुवा महिला किसान कल्पना बादीले बताउनुभयो ।

महाकाली नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको हितका लागि अक्सफाम नेपाल र रुडेस बैतडीले पानीको सदुपयोग परियोजना सञ्चालन गरिरहेको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो ।

नगरपालिकाको आर्थिक तथा संस्थाको प्राविधिक सहयोगले गर्दा बैतडीमा पहिलो पटक महाकाली नदीको पानी लिफ्ट गर्न सफल भएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताउनुभयो ।

संस्था र स्थानीय सरकारको साझेदारीमा भएको नमुना काम हेर्न कञ्चनपुरबाट अगुवा महिला किसानलाई तिरखडेनीको अवलोकन गर्न बैतडी ल्याएको निड्स कञ्नपुरका किसन खड्काले बताउनुभयो ।

अवलोकनका क्रममा बैतडीको तिरखडेनी पुग्दा नयाँ कुरा सिक्ने मौका पाएको दार्चुलाको महाकाली नगरपालिकाका अगुवा महिला किसान शान्ति ठगुन्नाले बताउनुभयो ।

महाकाली किनारमा बसोबास गर्ने नेपालीले महाकालीको पानी समदुयोग गरेको देख्दा अत्यन्तै खुसी लागेको भारतको पिथौरागढ जिल्लास्थित बलतडी ग्रामसभाका सभापति सुरेन्द्र भट्टले बताउनुभयो ।

“तिरखडेनीमा महाकालीको पानी आउँदा कृषि क्रान्ति कसरी भयो ? भन्ने कुरा नेपालबाट हामीले नयाँ कुरा सिक्ने अवसर पाएका छौं,” ग्राम सभापति भट्टले भन्नुभयो, “हामी पनि महाकाली किनारकै बासिन्दा हौं तर, पानीको सदुपयोग गर्न सकेका छैनौं । नेपालमा स्थानीय सरकारले खेलेको भूमिका हामी पनि लागू गर्ने छौं । ”

बैतडीको तिरखडेनीमा भएको कृषि क्रान्ति अन्य जिल्लाका लागि सिक्न लायक बनेको अक्सफाम नेपालका रिभरवेसिन मेनेजर राजन सुवेदीले बताउनुभयो ।

अक्सफाम नेपालले अन्तराष्ट्रिय सीमा नदीको पानीको सदुपयोग परियोजना (ट्रोसा) सञ्चालनका क्रममा बैतडीको तिरखडेनीमा नमुना काम भएको सुवेदीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?