logo
२०८१ मंसिर ८ शनिवार



फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य शुरु

खुला |
प्रदेश |


फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य शुरु
फाइल तस्विर


रेखीराम राना
पाल्पा, मङ्सिर १७ गते । जिल्लामा फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सुरु भएको छ । पहिलोचरण अन्तर्गत जिल्लाका पाँच वटा स्थानीय तहमा शुक्रबारदेखि फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

पहिलो चरण अन्तर्गत रामपुर नगरपालिका, पूर्वखोला, माथागढी, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकामा मतदाता नामावली सङ्कलन सुरु भएको जिल्ला निर्वाचन अधिकारी रुक्माङ्गत अर्यालले जानकारी दिनुभयो । पहिलो चरणको अभियान मङ्सिर २७ गतेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो ।

दोस्रो चरणमा मङ्सिर २८ गतेदेखि पुस ८ गतेसम्म निस्दी, रम्भा, तिनाउ र बगनासकाली गाउँपालिकामा मतदाता नामावली सङ्कलन हुने उहाँले बताउनुभयो । आफ्नो पालिकाको केन्द्रमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिएर पालिकाको केन्द्रमा मतदाताले नामावलीमा विवरण भर्न सक्नेछन् । बसाइँसराई र विवाहदर्ताको प्रमाणपत्रको आधारमा पनि मतदाता नामावली सङ्कलन हुने निर्वाचन आयोगले जनाएको छ ।

तानसेन नगरपालिकाभित्र बसोबास रहेका नागरिकले भने जिल्ला निर्वाचन कार्यालय गएर मतदाता नामावलीमा विवरण भर्नुपर्ने आयोगले जनाएको छ । कार्यालयकाअनुसार नयाँ मतदाता नामावली विवरण मात्र अभियानकाक्रममा सङ्कलन गरिनेछ । नामावलीमा नाम, थर, ठेगाना, भएका त्रुटि सच्याउन जिल्ला निर्वाचन कार्यालय पाल्पामा जानुपर्ने आयोगले जनाएको छ ।

आयोगले आसन्न स्थानीय, प्रदेश तथा सङ्घको निर्वाचनलाई विचार गर्दै मतदाता नामावली सङ्कलन गरिरहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । मतदाताको मताधिकार सुरक्षित गर्न सबै नागरिकलाई मतदाता नामावली सङ्कलन कार्यमा सहभागी हुन प्रजिअ पन्तले आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?