भउचप्रसाद यादव
काठमाडौँ, मङ्सिर १८ गते । काष्ठमण्डपको पुनर्निर्माण पुरानै शैली, शिल्प र प्रविधि प्रयोग गरी सम्पन्न गरिए त्यहाँ रहेका गोरखनाथ र गणेशको मूर्तिलाई नयाँ मूर्तिले प्रतिस्थापन गरिएको छ ।
काष्ठमण्डप निर्माण भएको समयदेखि नै त्यहाँ राखिएको भनिएको गोरखनाथ र गणेशका मूर्तिहरू हनुमानढोका दरबार सङ्ग्रहालयमा स्थानान्तरण गरिएको छ भने त्यसको ठाउँमा काष्ठमण्डपमा अहिले निर्माण गरिएका नयाँ मूर्तिहरू प्रतिस्थापन गरिएको छ । भूकम्प आउँदा काष्ठमण्डप क्षतिग्रस्त हुनुका साथै त्यहाँका मूर्तिहरू खण्डित भएका थिए । खण्डित भएका मूर्तिहरू संरक्षण गरिएको भन्दै दरबार सङ्ग्रहालयमा स्थानान्तरण गरिएको हो ।
काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले खण्डित भएका मूर्तिको पूजापाठ नगर्ने धार्मिक मान्यताका अनुसार काष्ठमण्डपबाट मूर्तिहरू प्रतिस्थापन गरी नयाँ मूर्ति राखिएको स्पष्ट पार्नुभयो । नयाँ निर्माण गरिएका मूर्तिहरू पुरानै मूर्तिको शैली र आकारमा निर्माण गरिएको हुनाले तिनीहरूको ऐतिहासिक महत्त्वमा कुनै कमी नआउने र इतिहासको समेत संरक्षण हुने उहाँको धारणा छ । उहाँले भन्नुभयो, ‘‘पूजापाठको लागि नै नयाँ मूर्ति निर्माण गरिएको हो । ’’
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा पुरातत्त्वविद् डा. जुुनु बासुकलाले खण्डित मूर्ति मठमन्दिर वा घरमा राखी पूजाआजा गर्नाले दोष लाग्ने वा नराम्रो हुने धार्मिक मान्यता रहेको हुनाले खण्डित मूर्तिको पूजा नगर्नुपर्ने बताउनुभयो । उहाँले पुरानो मूर्तिको ठाउँमा नयाँ मूर्ति राख्दा किन राखिएकोबारे विस्तृत विवरणसहितको शिला राख्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको जानकारी दिनुभयो ।
संस्कृतिविद् डा. गोविन्द टण्डनले काष्ठमण्डप प्राचीन सम्पदा रहेको हुनाले त्यहाँका हरेक मूर्तिलगायतका सामग्रीको ऐतिहासिक महत्त्व रहेको हुनाले पुनर्निर्माणसँगै पुरानो मूर्तिलाई नै स्थापित गर्नुपर्ने बताउनुहुन्छ । पुरानो जुन मूर्ति छ त्यही मूर्तिलाई नै स्थापना गर्नुपर्ने धार्मिक मान्यता रहेको उहाँको धारणा छ ।
‘‘कतिपय ठाउँमा पुरानो मूर्ति यदि फुटेको छ भने पूजा गर्ने दिनमा अर्को धातुको मूर्ति बनाएर पूजा गर्ने चलन छ तर पुरानो मूर्ति हटाइने गरिँदैन’’ उहाँले भन्नुभयो, ‘‘काष्ठमण्डपको सन्दर्भमा यदि नयाँ मूर्ति राखिएको छ भने पुरानो मूर्ति पनि त्यही राख्नुपर्छ । सङ्ग्रहालयमा राख्नुहुँदैन । ’’ यसरी नयाँ र पुरानो दुइटै मूर्तिको महìव बढेर जाने उहाँको धारणा छ ।
काष्ठमण्डप पुनर्निर्माण समितिद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक शाक्यले काष्ठमण्डपको सम्पूर्ण पुनर्निर्माण सकिएकाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटनको तयारी भइरहेको बताउनुभयो ।
वास्तुविद् प्रा.डा. सुुदर्शन तिवारीले काष्ठमण्डपको पुनर्निर्माण स्वदेशी शैली, सीप र प्राविधिक प्रयोग गरी सम्पन्न गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मौलिक स्वरूपमा काष्ठमण्डप पुनर्निर्माण भएको छ । यसमा कुनै पनि विदेशी सामग्री प्रयोग भएको छैन । ’’
पुरातत्त्व विभागका पूर्वमहानिर्देशक कोषप्रसाद आचार्यले पहिला प्रयोग गरिएका वस्तु नै प्रयोग गरी काष्ठमण्डप ठडिएको बताउँदै काष्ठमण्डपजस्तै भूकम्पले क्षतिग्रस्त भएका अन्य सम्पदाको पनि पुनर्निर्माण हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।