लोकेन्द्र जोशी
दार्चुला, मङ्सिर १८ गते । दार्चुलामा बालविवाह न्यूनिकरणका लागि मतदान गरिएको छ । उमेर नपुग्दै विवाह गर्नेक्रम बढ्दैगएको भन्दै जिल्लाको मालिकार्जुन गाउँपालिकाका विभिन्न वडामा मतदान गरिएको हो । वडा नम्बर २, ३, ६ र ८ मा मतदानका साथै सचेतनामुलक कार्यक्रम समेत गरिएको छ । विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्ने विषयमा मतदान गर्न लगाइएको हो ।
मालिकार्जुन गाउँपालिका–२ को राष्ट्रिय माध्यमिक विद्यालय ठिङ, विहिबार मालिकार्जुन माबि मड र शुक्रबार शंकरपुर माबि पस्तीमा गुडनेवर्स इन्टरनेसनलको आर्थिक सहयोग तथा मालिकार्जुन गाउँपालिकाको समन्वयमा बालविवाह न्यूनिकरणका लागि सन्देश प्रवाह गर्न मतदान गरिएको ग्रामिण विकास समाज नेपाल दार्चुलाका सहजकर्ता बिस्ना धामीले जानकारी दिनुभयो ।
शंकरपुर माबि पस्तीमा ३५० मत खसेकोमा ३१३ जनाले बालविवाह गर्न नहुने पक्षमा मतदान गरेका छन् । १९ जनाले बालविवाह ठीक भन्दै पक्षमा मतदान गरेका छन् । १८ मत बदर भएको सहजकर्ता धामीले बताउनुभयो । राष्ट्रिय मावि ठिङमा गरिएको मतदानमा २०८ जनाले बालवाविह गर्नु ठीक नभएको भन्ने पक्षमा र १० जनाले बालविवाह गर्नु ठीक हो भन्ने पक्षमा मतदान गरेका छन् ।
मालिकार्जुन मावि मडमा भएको मतदान कार्यक्रममा २५५ जनाले मतदानमा सहभागी रहेकोमा बालविवाह गर्नु बेठिक भन्नेमा २२५ र ठीक हो भन्ने पक्षमा २९ जनाले मतदान गरेको उहाँले बताउनुभयो ।
मतदानको नतिजाअनुसार अधिकांशंले बालविवाह गलत हो भन्नेमा मतदान गरेका छन् । मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकामा गुड नेवर्सको सहयोगमा बालविवाह नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेको छ । मालिकार्जुनसहित जिल्लाका विभिन्न स्थानीय तहमा अझै पनि बालबिबाह हुने गरेको छ ।
विद्यालयमा बाल क्लब सक्रिय गराएर बालबिबाह नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि लक्ष्यअनुसार प्रगति हुन नसकेको संस्थाको भनाई छ । बालविवाहको अवस्थाबारे सर्भे गर्न तथा बालविवाह न्यूनिकरणका लागि सचेतना फैलाउन मतदान गरिएको बताइएको छ ।
बालविवाहका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्नुका साथै पारिवारिक, शैक्षिक, आर्थिक, सामाजिक समस्याहरु बढ्दै गएको स्थानीयको भनाई छ । प्रत्येक विद्यालयमा बाल क्लब बनाएर बालविवाह नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि लक्ष्यअनुसार प्रगति हुन नसकेको अभियान्ताहरुले बताउनुभयो ।