अमरराज नहर्की
तनहुँ, मङ्सिर २० गते । तनहुँका एक युवकको आइतबार राती गोली लागेर मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका– १ थप्रकेका १७ वर्षीय रोहित मल्लको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
दुई जना मिलेर जङ्गलमा शिकार खेल्न गएको बेला गोली लागेकाले घटनाको अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिइएको प्रनाउ खड्काले बताउनुभयो ।
शिकार खेल्न सँगै गएका छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई बन्दुकसहित नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । ‘दुई जना मिलेर रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा राती ८ बजे शिकार खेल्न गएको रोहित आफैँले बोकेको बन्दुक पड्किएको र हेर्न जाँदा मृत्यु भएको गुरुङले प्रारम्भिक अनुसन्धानमा बयान दिएको प्रनाउ खड्काले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएको भरुवा बन्दुकको लाइसेन्स नभएको प्रहरीले जनाइएको छ । ‘‘दुई जना मात्र शिकार खेल्न गएकाले घटना रहस्यमय देखिएको छ, अनुसन्धानका लागि गुरुङलाई नियन्त्रणमा लिएका छौं’’ प्रनाउ खड्काले भन्नुभयो ।