logo
२०८१ मंसिर ७ शुक्रवार



दार्चुला अदालतले दुई करोड ३१ लाख रुपियाँ जरिवाना असुल गर्न बाँकी

खुला |
प्रदेश |


दार्चुला अदालतले दुई करोड ३१ लाख रुपियाँ जरिवाना असुल गर्न बाँकी


लोकेन्द्र जोशी
दार्चुला, मङ्सिर २० गते । जिल्ला अदालत दार्चुलाले प्रभाकर बुढाथोकीबाट एक करोड ८६ लाख रुपियाँ बढी जरिवाना रकम असुल गर्न बाँकी छ । ब्याँस गाउँपालिका– २ का बुढाथोकीबाट एक करोड ८६ लाख ३९ हजार ७५० रुपियाँ जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।

बुढाथोकीबाट बैङ्किङ कसुर अन्तर्गत उक्त रकम असुली गर्न बाँकी रहेको हो । बैङ्किङ कसुर गरेर फरार रहेका बुढाथोकीबाट जरिवाना असुल गर्न नसकेकै कारण जिल्ला अदालतले असुल गर्नुपर्ने जरिवाना रकम बढी देखिएको छ । बुढाथोकीबाट एक करोड ८६ लाख ३९ हजार ७५० रुपियाँसहित जिल्ला अदालतले कैद सजाय सुनाएर फरार भएका कैदीबन्दीबाट कुल दुई करोड ३१ लाख ४३ हजार ३५४ रुपियाँ असुली हुन बाँकी छ । २०४१ साल चैत १३ गतेदेखि २०७८ असार ३१ गतेसम्मका विभिन्न मुद्दामा अदालतबाट सजाय सुनाइएका प्रतिवादीहरुबाट १७७ वर्ष ४ महिना १ दिन कैद असुली गर्न बाँकी रहेको श्रेस्तेदार ज्ञवालीले बताउनुभयो ।

बैंकिङ्ग कसुर, कर्तव्य ज्यान, चोरी, जबरजस्ती करणी, कुटपिट, लुटपाट, गाली बेइज्जती, मानब बेचबिखन ओसारपसार, हाडनाता करणी, हातहतियार खरखजाना, सवारी ज्यान, ठगी, बहुबिवाह, भ्रष्टाचार र लागू औषधलगायत ४६ थान मुद्दाका प्रतिबादी तथा कैदीबन्दीहरु फरार रहेका छन् । अदालतले चालु आर्थिक वर्षमा ५ वर्ष ७ महिना १९ दिन कैद तथा ६८ हजार २ सय रुपियाँ जरिवाना मात्र असुल गरेको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा ३८ थान मुद्दा फैसला भएको जिल्ला न्यायाधीश कोमल आर्चायले जानकारी दिनुभयो । जिल्ला अदालत दार्चुलामा गत वर्षबाट जिम्मेवारी सरेर आएका ४६ थान र चालु आर्थिक वर्षमा दर्ता भएका ५९ थान मुद्दा गरी १०५ मुद्दामध्ये ३८ थान मुद्दा फैसला भएको हो ।

चालु आर्थिक वर्षमा जिम्मेवारी सरेकोबाट २३ थान र नयाँबाट १५ थान मुद्दा फैसला भएको न्यायाधीश आचार्यले बताउनुभयो । जिम्मेवारी सरेर आएका २३ थान र नयाँ दर्ता भएका ४४ थान गरी कुल ६७ थान मुद्दा फैसला हुन बाँकी रहेको अदालतले जनाएको छ । अदालतमा देवानी दुनियवादीतर्फ ३२, सरकारी फौजदारी ६ थान, दुनियवादी फौजदारीका ६ तथा र रिट अन्तर्गत २ वटा मुद्दा परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?