मुना हमाल
सुर्खेत, मङ्सिर २० गते । कर्णाली प्रदेशको रङ्गशाला निर्माणका लागि शिलान्यास गरिएको छ । सोमबार मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश गौरवको आयोजनाको रुपमा रहेको प्रदेश रङ्गशाला निर्माणको शिलान्यास गर्नुभएको हो ।
रङ्गशाला निर्माणको शिलान्यास भएसँगै औपचारिक रुपमा निर्माण कार्य सुरु भएको छ । रङ्गशाला ३० महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । गत कात्तिक २८ गते रङ्गशाला निर्माणका लागि निर्माण कम्पनिसँग सम्झौता गरिएको थियो ।
रङ्गशाला निर्माणको जिम्मा एमएसी–जिएसएल कम्पनिले लिएको छ । वीरेन्द्रनगर – ८ मा निर्माण गरिने रंगशाला कम्पनिले २०८१ जेठ ११ गतेभित्र सम्पन्न सक्ने समयसीमा रहेको छ । मुख्यमन्त्री शाहीले रंगशालाको शिलान्यास गर्दै रङ्गशाला समयमै निर्माण सम्पन्न गरिने बताउनुभयो ।
प्रदेश खेलकुद विकासका लागि सरकारले ठोस कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कर्णालीका खेलाडीहरुका लागि आवश्यक स्रोत साधानको व्यवस्था गर्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेश सम्भावना बोकेको प्रदेश भएकाले यहाँको समृद्धि र विकासका लागि अन्य प्रदेशअनुसार अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा सदस्यसचिव विश्वमित्र सञ्ज्यालले कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत लक्षित गरेर रङ्गशाला निर्माणको कामलाई तीव्रता दिइने जानकारी दिनुभयो । एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० रुपियाँ लागतमा उक्त रङ्गशाला निर्माण हुने उहाँले बताउनुभयो ।
रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको हुने उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार रङ्गशालाभित्र भलिबल, बास्केटबल लागतयका खेलहरु खेल्न मिल्नेछ । यस्तै, भिआइपी वेटिङ रुम, भिआइपी प्याराफिट, मेडिकल वार्ड, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, स्वीमिङ पुल, पार्किङ लगायतका संरचनाहरु निर्माण हुने उहाँले बताउनुभयो ।