लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर २१ गते । सात दिवसीय विवाहपञ्चमी महामहोत्सव अन्तर्गत पाँचौं दिन अर्थात् शुभ विवाहको अघिल्लोदिन मटकोर विधि आज हुँदैछ । सोमबार तिलकोत्सव अर्थात् सम्धी मिलन सम्पन्न भएको छ । मंगलबार दिउँसो जनकपुरधामस्थित गङ्गासागर सरोवरमा विधिवत रुपमा मटकोर कार्यक्रम गरिने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभयो ।
उहाँले जानकी मन्दिरबाट झाँकीसहित आएका साधु सन्त र श्रद्धालुले गंगासागरको किनारमा गएर मटकोर विधि वैदिक परम्परा अनुसार गर्ने चलन रहेको बताउनुभयो । मटकोरको प्रसादमा भिजाएको चना, चामल र खाने तेल वितरण गर्ने गरिन्छ । परम्परा अनुसार हुने विवाहको सबै विधि सीता राम विवाह अर्थात् विवाहपञ्चमीमा हुने गरेको महन्थ दास बताउनुहुन्छ ।
त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान सीता र रामको विवाह जनकपुरधाममा भएको सम्झनास्वरुप परापूर्वकालदेखि नै जनकपुरधाममा विवाहपञ्चमी महोत्वस मनाउने गरिएको बताउँदै जानकी मन्दिरका महन्थ दासले मर्यादा पुरुषोत्तम श्रीराम र आर्दश नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिएको हुन्छ, भन्नुभयो ।
एक हप्तासम्म विधिवत चल्ने विवाहपञ्चमी महोत्सवमा सम्पूर्ण विधिहरु त्रेता युगमा सीताराम विवाहको सम्झनामा मनाइने विवाहपञ्चमी महोत्सवमा गरिने चलन रहिआएको जानकी मन्दिरका महन्थले बताउनुभयो । सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सवमा त्रेता युगमा सीतारामको विवाहमा गरिएको विधि अनुसार प्रथम दिन नगर दर्शनमा राम लक्ष्मणलाई नगर दर्शन स्वरुप जानकी मन्दिर प्राङ्गणमा रातो कार्पेट ओछ्याई फूलवर्षासहित नगर परिक्रमा गरिएको थियो ।
त्यसैगरी, देस्रो दिन फूलबारी लिलामा जानकी मन्दिर नजिकमा रहेको विवाह मण्डपको प्राङ्गणमा अवस्थित फूलबारी गई फूल टिपेर विधिवत् सम्पन्न भएको थियो । विवाहपञ्चमीको तेस्रो दिन धनुष यज्ञ अर्थात मिथिलामा धनुष तोडी पनि भनिन्छ । रामले धनुष तोडेपछि सीतासँग स्वयम्बर भएको किम्दन्ती भनाइ रहँदै आएको सर्वविदितै छ ।
त्यस्तै, चौथो दिन सोमबार तिलकोत्सवमा २५१ जना पाहुर (कोसेली)सहित जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास राम मन्दिर पुग्नुभएको थियो । राम मन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव समारोहमा अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्थ राम गिरी र जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासबीच सम्धी मिलन गरिएको थियो ।
सप्ताहव्यापी विवाहपञ्चमीको पाँचौ दिन गंगासागर पोखरीमा मटकोर गरिन्छ भने त्यसको अर्को दिन शुभविवाहका दिन जानकी मन्दिर प्राङ्गणमा धुमधामका साथ विधिवत् सीता रामको विवाह गरिन्छ । सप्ताहव्यापी चल्ने विवाहपञ्चमीको सातौं दिन बिहीबार रामकलेवा विधि गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेगर्छ ।