logo
२०८१ मंसिर ७ शुक्रवार



बाढी पहिरो सङ्कटग्रस्त क्षेत्र घोषणापछि कतै आशा, कतै निराशा

खुला |
प्रदेश |
समाज |


बाढी पहिरो सङ्कटग्रस्त क्षेत्र घोषणापछि कतै आशा, कतै निराशा
मष्टा गाउँपालिका १ डुंग्रीमा बाढीले बगाएर लगेर केही बचेका जोखिमयुक्त घरहरु । तस्विर – शैलेन्द्र रोकाया ।



शैलेन्द्र रोकाया
बझाङ, मङ्सिर २२ गते । “राति सुतिरहेका थियाैँ, एक गाउँ नजिकै रहेको डुंग्रीगाडमा पानीको सतह बढ्यो र अब घर नै बगाउँछकी भनेर साना लालाबालाहरु बोकेर भाग्यौँ, मष्टा गाउँपालिका १ डुंग्रीका स्थानीय रामचन्द्र रोकायाले भन्नुभयो, भागेको एक घण्टाभित्र आफूहरुले बसोबास गर्दै आएको घर बाढीले बगाएर लग्यो । जीवनभर कमाएर लगाएको घर मात्र लगेन घरभित्र भएको अन्न, लुगा कपडा, कमाई खाने खेतसमेत बगाएर बगर बनायो ।”उहाँले सरकारले घोषणा गरेको सङ्कटग्रस्त पालिकामा मष्टाको नाम नअटाउनु दुर्भाग्य मात्र नभई मष्टा गाउँपालिकाप्रति सरकारले सौतेलो व्यवहार गरेको बताउनुभयो ।

गएको कात्तिक १ गते देखि ३ गतेसम्म आएको अविरल वर्षामा आएको बाढीले मष्टा गाउँपालिकाका १ का रोकायाको मात्रै होइन रोकाया जस्ता एकै गाउँका १० घर बाढीले बगाएर लियो भने सयौं घर अझै पनि बाढी र पहिरोको उच्च जोखिममा भएका कारण आफ्नो जन्मघर (थात थलो) छोडेर आफन्तको घरमा शरण लिएर बसिरहेका छन् । मङ्गलबार सरकारले घोषणा गरेको सङ्कटग्रस्त बझाङ जिल्लाका चार वटा पालिकाको लिस्टमा मष्टा गाउँपालिका जस्तै बढी क्षति जिल्लामा बाढी र पहिरोको सबैभन्दा बढी सङ्कट झेलिरहेको खप्तड छान्ना गाउँपालिकापछि भौतिक संरचनाको क्षति भएको मष्टा, बुंगल र केदारस्युँलगायत अन्य सबै पालिकाहरु संकटग्रस्त क्षेत्रमा छुटेपछि पीडितहरुले आफूमाथि सरकारले अन्याय गरेको भन्दै निराशा भएका छन् ।

गएको वर्षायाममा गाउँमा पहिरो पसेर घर पुरिएपछि एकै गाउँका सात जनाले ज्यान गुमाएको मल्लेसी गाउँलाई यो वर्ष समेत बाढी र पहिरोले छोडेन । सरकारको आश्वासनसमेत नपाएका मल्लेसी गाउँबासीले सरकारले आफूहरुमाथि विभेद गरेको आरोप लगाउँदै आएका छन् । मल्लेसी गाउँका स्थानीय नरेश जेठाराले सरकारले गरेको यो निर्णण विभेदकारी भएको भन्दै आफ्नो ठाउँ समेत सङ्कटग्रस्त क्षेत्र बनाउनुपर्ने बताउनुभयो । उहाँले गएको वर्ष भएको क्षतिको घाउँ त छँदैछ फेरि यो वर्ष समेत भएको क्षतिका बारेमा सरकार बेखवर हुनु दुःखदायी भएको बताउनुभयो । रोकाया र जेठाराले पोख्नुभएको पीडाका घटना त प्रतिनिधी घटना मात्र हुन् । बझाङ जिल्लामा यस्ता थुप्रै घटनाहरु छन्,जो बाढी र पहरोका कारण सुकुम्बासी हुने अवस्था आएको छ ।

पटक पटक ठूला प्राकृतिक विपत्तिको सामना गरिरहेका बझाङ बासीहरुका लागि थोरै भए पनि सरकारले गरेको घोषणाले राहत मिल्ने आसा पलाएको भए पनि छुटेका पालिकाका अधिकांश पीडितहरु भने निराशा भएका छन् । बस्ने घर कमाई खाने खेत बगाएर बाढी र पहिरोले लुटेका स्थानीयको पीडाका बारेमा सरकारका निकायको बेखवरका कारण यस्तो अवस्था आएको पीडितहरुको गुनासो छ । मष्टा १ का लक्ष्मण रोकायाले भन्नुभयो, “हाम्रो पीडा कस्ले सुन्ने । बस्ने घर छैन । कमाइ खाने खेत बगाएर बगर बनेको छ । गाउँमा रोजगारीका अवसरहरु छैनन् ।

सरकारले केही गर्छ कि भनेर सोचेका थियौँ तर सरकारले पनि आफूहरुमाथि विभेद गरेपछि अब के गर्नु र ” बाढी र पहिरोका कारण जिल्लामा झण्डै दुई सय परिवार विस्थापित भएका छन् भने हजारौँ हेक्टर खेतीयोग्य जमिन बगाएर बगरमा परिणत भएको छ । बाढी र पहिरोकै कारण झण्डै डेढ सय भन्दा बढी परिवारहरु सुकुम्बासी बनेका छन् । सरकारले जिल्लाका चार वटा पालिकाहरुलाई सङ्कटग्रस्त पालिका घोषणा गरेको भए पनि आशा र अन्याेल पनि उत्तिकै छ । गएको मङ्गलबार सरकारले जिल्लाको खप्तडछान्ना गाउँपालिका, थलारा गाउँपालिका, बित्थडचिर गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई बाढी र पहिरो सङ्कटग्रस्त पालिका घोषणा गरी पुनःनिर्माणका कार्यहरु अगाडि बढाउने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?