logo
२०८१ मंसिर ८ शनिवार



चिसोले उपल्लो मुस्ताङका प्रहरी चौकी अस्थायी मर्ज

खुला |
प्रदेश |


चिसोले उपल्लो मुस्ताङका प्रहरी चौकी अस्थायी मर्ज
फाइल फाेटाे



अमृतप्रसाद पौडेल
बेनी, मङ्सिर २३ गते । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो भेकमा अत्याधिक चिसो बढेपछि लोमन्थाङ गाउँपालिकाको छोनहुप र छोसेरमा रहेका प्रहरी चौकीलाई लोमान्थाङमा मर्ज गरिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार जिल्ला सुरक्षा समितिको बैठकको निर्णय बमोजिम फागुन मसान्तसम्मका लागि अस्थायी रुपमा इलाका प्रहरी कार्यालय लोमन्थाङमा मर्ज गरिएको हो ।

चिसो अत्याधिक बढेसँगै उपल्लो ईलाका प्रहरी कार्यालय लोमान्थाङ ल्याइएको प्रजिअ शर्माले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सुचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रताप पौडेलका अनुसार जिल्ला सुरक्षा समिति बैठकले गरेको निर्णय कार्यान्वयनका लागि दुई वटा चौकीलाई अस्थायी रुपमा मर्ज गरीएको हो ।

प्रत्येक वर्ष चिसोको समयमा प्रहरीहरु माथिल्लो भेकमा बस्न नसक्ने हुँदा अलिक सहज हुने स्थानमा सार्ने गरिन्छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको मातहतमा रहने १९ युनिट मध्ये अहिले उपल्लो भेकमा भएका दुई वटा प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयमा मर्ज गरिएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

चीनसँग सिमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको सीमावर्ती क्षेत्रको तापक्रम अहिले माइनस १५ डिग्री पुगेको र विहान, बेलुका सो स्थानमा अत्याधिक चिसो सिरेटोको कारणले गर्दा बस्नै नसक्ने अवस्था हुने भएकाले प्रहरी चौकी सारिएको हो । उक्त क्षेत्रमा प्रहरीले प्रयोग गर्ने सञ्चार सेटले समेत राम्रोसँग काम नगर्ने हुनाले पनि यो समयमा मर्ज गर्नुपर्ने अवस्था आउने गर्दछ ।

हाल उपल्लो मुस्ताङका स्थानीय बासिन्दाहरु चिसो छल्नका लागि बेसी झरिसकेको र विद्यालयहरु पनि पोखरामा घुम्ती विद्यालयका रुपमा सुरु भैसकेको हुँदा प्रहरी चौकी पनि सारिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?