लीलाराज झापाली
बिर्तामोड, मंसिर २३ गते । आफ्नै कोठाका साथीको हत्या आरोपमा कतारको जेलमा एक वर्षदेखि श्रीमान् जेलमा रहँदा यहाँ नेपालमा परिवारका सदस्यको विचल्ली भएको छ । झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३० बर्षिय सुुबास राउत कतारको जेलमा सजाय भोगिरहनुभएको छ ।
सँगै कोठामा बस्ने उहाँलाई खोटाङ् ऐसेलुखर्क महेश्वरी गाउँका लामाकाजी राईको हत्या आरोप छ । राउतले गतबर्ष मंसिरमा राईको हत्या आरोपमा जेल पर्नुभएको थियो । राउतले आफु ड्युटी सकेर कोठामा आउँदा साथीलाई कसैले छुरा प्रहार गरेर घाईते बनाएर भागेको उहाँको श्रीमती कुमारी राउतले बताउनुभयो ।
“गाउँघरको सोझो मानिस नियम कानुन जान्नुभएन, आफ्नै कोठाको साथीलाई बचाउन हरसम्भव प्रयास गर्दा अहिले आएर फिङ्गर पिन्टका आधारमा कतारी कानुनअनुसार आजिवन कारावासको सजाय भोगिरहनुभएको कुमारीले बताउनुभयो । हत्या आरोपी राउत र हत्या हुने राईवीच राम्रो सम्बन्ध भएको उहाँले बताउनुभयो ।
राउतले साथीको हत्या नगरे पनि फिङ्गर पिन्टका कारण राउत कतारी जेलमा बस्नुपरेको स्थानीय जानकार युगल दवाडीले बताउनुभयो । हाल कतारको अदालतले राउतलाई कम्तीमा ३ बर्ष जेल सजाय र त्यसपछि २ लाख ५० हजार रुपियाँ ब्लड मनि तोकेको छ । सो रकम बुझाउन नसकेमा आजिवन सजाय कुर्नुको विकल्प नरहेको श्रीमती कुमारीले बताउनुभयो ।
स्थानीय जनप्रतिनिधिसहितको टोली मृतक राईको घरमा गएर बुझ्दा १५ लाख रुपियाँसम्म क्षतिपुर्ति बुझाएमा सरकारको रोहवरमा राउतलाई नेपाल झिकाउने सहमति भएको स्थानीय जनप्रतिनिधि रोशन सुवेदीले बताउनुभयो । तर राउत परिवारसँग सो रकम बुझाउने सामथ्र्य नभएको सुवदीले बताउनुभयो ।
सामान्य परिवारकाको राउत परिवार श्रीमान जेलमा परेपछि श्रीमतीले ज्यामी काम गरेर जेनतेन परिवार पाल्दै आउनुभएको छ । सम्पत्तिको नाममा सानो ऐलानी जग्गामा बनेको घर मात्रै रहेको स्थानीयको भनाई छ । १० र ५ बर्षका छोराछोरी हुर्काउन समस्या भइरहेको कुमारीले बताउनुभयो । कतारको कानुन नजान्दा फन्दामा परेको भन्दै नेपाल झिकाइदिन सबैसँग उहाँले हारगुहार गर्दै आउनुभएको छ ।
कनकाई नगरपालिका ४ का वडाअध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा सुवास राउत नेपाल झिकाउनका लागि एक समिति समेत गठन गरी पहल सुरु गरिएको छ ।