logo
२०८१ माघ ५ शनिवार



कुतियाकवर गाउँको गरिखाने खेत बगर बन्दा...

खुला |
प्रदेश |


कुतियाकवर गाउँको गरिखाने खेत बगर बन्दा...
फाइल तस्विर


शेरबहादुर सिंह
महेन्द्रनगर, मंसिर २४ गते । गत महिना आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर गाउँ पूरै डुबानमा पर्‍यो । महाकाली र जोगबुढा नदी उर्लिदा रातारात प्रहरी प्रशासनले स्थानीयको उद्धार गरे ।

सिङ्गो गाउँ बाढीका कारण विस्थापित बन्यो । अहिले अवस्था सामान्य बन्दै गएपनि कुतियाकवर गाउँ बगरमा परिणत हुँदा स्थानीयवासी चिन्तित छन् । “भारतसित सीमा जोडिएको कुतियाकवरमा ४२ परिवार छन् ।” दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष नरबहादुर सुनारले भन्नुभयो, “ती सबै परिवारको कमाइखाने खेत बालुवाले पुरिएको छ ।”

बस्तीको खेतीयोग्य जमिन बालुवाले पुरिँदा किसान खेतबारी लगाउन नसक्ने अवस्थामा पुगेका वडाध्यक्ष सुनारको भनार्इ छ । उहाँले बाढीकाबेला महाकाली नदीले बगाएर ल्याएका रुख, दाउरा पनि गाउँमा थुपारिएको बताउनुभयो । “महाकाली र जोगबुढाको दोसाध हुनाले कुतियाकवरमा बढी क्षति भयो ।” सुनारले भन्नुभयो, “बाढीकाबेला मेरो वडामा मात्रै ९०० परिवार प्रभावित बनेका थिए ।” उहाँले खेतमा थुपरिएको बालुवा हटाउन नगरपालिकाले समन्वय गर्ने बताउनुभयो ।

बाढीपीडितलाई तत्कालको राहतस्वरुप नगरपालिका र दातृ निकायबाट खाद्य सामग्री वितरण गरिएको उहाँको भनार्इ छ । दोधारा चाँदनीकै भौगोलिकरुपले विकट मानिने कुतियाकवरका स्थानीय खेतीपाती र भारतीय सीमावर्ती बजारमा ज्याला मजदूरी गरेर जिविका चलाउँदैआएका छन् । स्थानीयवासीले सरकारले उपलब्ध गराउने भनेको राहत अझै पाउन नसेकोप्रति दुखेसो पोखेका छन् ।

“राहत आउँदै गथ्र्र्यो, बरु डोजर पठाएर खेतको बालुवा हटाइ दिए हुन्थ्यो ।” स्थानीय टेकबहादुर सुनारले भन्नुभयो, “गरिखाने खेतमा बालुवा भरियो, अब कसरी जीविका चलाउने ?” उहाँले बालुवा हटाउन स्थानीय पालिकालाई आग्रह गरेपनि सुनुवाइ नभएको बताउनुभयो । अन्नबाली बाढीले बगाउँदा स्थानीयलाई छाक टार्न समस्या भएको सुनारको भनाइ छ ।

त्यसैगरी अर्का स्थानीय सुष्मा सुनारले हरेक वर्ष जोगबुढा नदीले समस्या दिने गरेको दुखेसो पोख्नुभयो । “बर्सातमा गाउँका झुपडी सुरक्षित रहँदैनन् ।” उहाँले भन्नुभयो, “गरिब त्यहीमाथि दलित बस्तीलाई कसैले वास्ता गरेनन् ।” दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले बाढीकाबेला तत्काल खाद्यान्नलगायतका राहत वितरण गरिएको बताउनुभयो । “विभिन्न सङ्घ संस्थाले पीडितलाई त्यो बेला सहयोग गरे ।” उहाँले भन्नुभयो, “पीडितको लगत सङ्कलन गरेर केन्द्रमा पठाएका छौँ, सरकारले सहयोग गर्ने आश्वासन दिएको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?